अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरूको दूरदृष्टि नपुग्दा जेन–जी पुस्ताका युवाहरूले अनावश्यक रूपमा ज्यान गुमाउनुपरेको बताएकी छन्।
विजया दशमीका दिन आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारसँग भेट गर्दै प्रधानमन्त्री कार्कीले यस्तो धारणा राखेकी हुन्। उनले नहुनुपर्ने घटना भएको उल्लेख गर्दै मृतक परिवारलाई राज्यबाट सहयोग गर्ने प्रतिवद्धता जनाइन्।
उनको भनाइमा “दुःखद घटना भयो। सरकारमा हुनेहरूको बुद्धि पुग्न सकेन, त्यसैले यो दुर्घटना भयो। बच्चाहरूले पढ्ने, भविष्य निर्माण गर्ने अवसर गुम्यो। उहाँहरूले मागेको खासै ठूलो केही थिएन। राज्यले गुमेको ज्यान फर्काउन सक्दैन तर उठ्न सहयोग गर्ने दायित्व भने लिन्छ।”
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पनि सहिदहरूको रगतको बलिदान व्यर्थ नजाने बताउँदै, न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।
यस वर्ष, सदाझैं हुने टीका लगाउने प्रथाबाट पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की समेत टाढा रहेका छन्।




