काठमाडौं । मौसम पूर्वानुमान विभागले बाढी र पहिरोको जोखिमबारे दिएको पूर्वसूचना पछि सशस्त्र प्रहरी बलले उपत्यकाभरि नदी आसपासका क्षेत्रमा गस्ती तथा सचेतनामूलक कार्यक्रमलाई तीव्र पारेको छ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार शुक्रबार साँझ चोभार, बल्खु, बालाजु, माछापोखरी, बनस्थलीलगायत स्थानमा गस्ती र माइकिङ गरिएको छ। ‘बाढी र डुबानको सम्भावना रहेका क्षेत्रलाई पहिचान गरेर त्यहाँ गस्ती बढाइएको छ,’ उनले बताए।
नदी आसपासका बासिन्दालाई सुरक्षित रहन र आपत् अवस्थामा तुरुन्त सहायता पाउन सशस्त्र प्रहरीको टोल–फ्री नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरिएको छ।
यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार उपत्यकाका विभिन्न सशस्त्र प्रहरी युनिटहरूको निरीक्षण गर्दै स्रोत, साधन र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बलसँग विपद् व्यवस्थापनका लागि गोताखोर, तालिम प्राप्त उद्धारकर्मी, र्याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट र मास क्याजु अल्टी भेइकल जस्ता उपकरण उपलब्ध छन्। गृहमन्त्रीले नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालय, सामाखुशीको समेत निरीक्षण गर्दै गृह मन्त्रालयले जोखिमयुक्त जिल्लाहरूलाई पूर्वतयारी अवस्थामा बस्न निर्देशन दिएको जानकारी दिएका छन्।




