५ असोज, काठमाडौं । आसन्न मन्त्रिपरिषद् विस्तारमा मन्त्री बन्ने चर्चा भइरहेकी टासी ल्हाजोम विवादमा तानिएकी छन्।
सरकारले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेको बेला टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाउने तयारी भइरहेको समाचार सार्वजनिक भएपछि उनी विवादमा आएकी हुन्।
जेन–जी आन्दोलनका तर्फबाट कर्णाली संयोजक सुप्रिया शाहीले जारी गरेको विज्ञप्तिमा टासीको नागरिकता विवाद रहेको र उनी जेन–जी आन्दोलनको कुनै औपचारिक भूमिकामा नरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने नाममा टासी ल्हाजोमलाई मन्त्री बनाउने तयारी गरिएको खबरले आन्दोलनकारी युवाहरूको ध्यानाकर्षण भएको छ। नागरिकता र राजनीतिक संलग्नताको विषयमा छानबिन नगरी निर्णय गरिए आन्दोलनले अस्वीकार गर्नेछ।”
जेन–जी कर्णालीले टासी फ्री तिब्बत अभियानसँग संलग्न रहेको आशंका पनि व्यक्त गर्दै त्यसबारे सरकारले छानबिन गर्नुपर्ने माग गरेको छ। साथै, कर्णाली प्रदेशको प्रतिनिधित्वका विषयमा स्थानीय जेन–जीहरूसँग परामर्श नगरी निर्णय नगर्न सरकारलाई आग्रह गरिएको छ।
कर्णालीका जेन–जीहरूका अनुसार सम्भावित प्रतिनिधिहरूमाथि पहिल्यै छलफल भए पनि टासीको नाम प्रस्तावमा नरहेको जनाइएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले टासीको नामबारे थप छलफल गर्ने तयारी गरेकी छन्।
यसैबीच, पूर्वसांसद ज्ञानेन्द्र शाहीले टासी ल्हाजोम नेपाली नभएको दाबी गर्दै उनलाई “अमेरिकी दूतावासको सिफारिसमा मन्त्री बनाउन खोजिएको” आरोप लगाएका छन्।





