उदाउँदो सूर्यलाई अर्घ दिँदै सम्पन्न भयो छठपर्व, भक्तिभावसहित देशभर मनाइयो

काठमाडौँ — सूर्यदेवको आराधना, उपासना र कृतज्ञताका साथ मनाइने चारदिने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न भएको छ। भक्तजनहरूले देशभरका नदी, तलाउ र पोखरी किनारमा गाईको दूध, फूल र पवित्र जलले सूर्यलाई अर्घ दिँदै पूजा आराधना गरे।

भिन्सरघाट (भिन्सर अर्थात् बिहान) भनिने यो विधि अन्तर्गत भक्तजनहरूले कम्मरसम्म पानीमा डुबेर सूर्यलाई अर्घ दिँदै दर्शन गर्छन्। धार्मिक विश्वासअनुसार पृथ्वीमा जीवधारीहरूको संरक्षण र सञ्चालन सूर्य र जलद्वारा हुने भएकाले सूर्यलाई सम्पूर्ण शक्तिको स्रोत र नदीलाई माताको रूपमा पूजा गरिन्छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कार्तिक शुक्ल पक्षमा सूर्यषष्ठीका दिन सूर्यको आराधनाले मनोकाङ्क्षा पूरा हुने र इच्छित फल प्राप्त हुने शास्त्रीय उल्लेख छ। विवाहिता महिलाले पति दीर्घायुको, अविवाहितहरूले सुयोग्य वर–वधु प्राप्तिको, र सन्तानको कामनाले धेरै भक्तजनले छठ व्रत गर्छन्।

छठपर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। पहिलो दिन स्नान गरी चोखो खानु, दोस्रो दिन खरना गरी निर्जला व्रत बस्नु र तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिनु यसको प्रमुख विधि हो। आज अर्थात् सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई व्रत सम्पन्न गरिन्छ।

तराई क्षेत्रबाट सुरु भएको यो मिथिला परम्परामा आधारित पर्व २०४६ सालपछि काठमाडौँलगायत पहाडी क्षेत्रहरूमा पनि लोकप्रिय हुन थालेको हो। विसं २०६२ मा गुह्येश्वरीमा “श्री छठ पूजा समिति” आधिकारिक रूपमा दर्ता भएपछि राजधानीमा छठको विशेष रौनक फैलिएको छ। हाल कमलपोखरी, थापाथली र गुह्येश्वरी छठघाटहरू मुख्य केन्द्र बनेका छन्।

छठीमाताले सर्वप्रथम सूर्यदेवलाई खुसी पार्न यो व्रत सुरु गरेको धार्मिक मान्यता छ। महाभारतकालमा द्रोपदीले पाण्डवहरूको अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेकी कथा र अत्रिमुनिकी पत्नी अनुसूयाद्वारा गरिएको छठ व्रतको प्रसङ्ग पनि पुराणमा उल्लेख पाइन्छ।

आज बिहान राजधानीका गुह्येश्वरी, कमलपोखरी, थापाथलीलगायत घाटहरू बेहुलीझैँ सिँगारिएका थिए। अस्ताउँदो सूर्यको अर्घ झैँ, उदाउँदो सूर्यको अर्घ पनि श्रद्धा, भक्ति र आशाभावसहित सम्पन्न भएको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जनाए।

यससँगै चारदिने सूर्य आराधनाको पावन पर्व छठ विधिवत् सम्पन्न भएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर