योग्य नागरिकलाई मताधिकारको सदुपयोग गर्न आह्वान
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सबै योग्य नागरिकलाई आजै मतदाता परिचयपत्र बनाउन आग्रह गरेकी छन्।
शुक्रबार जारी गरिएको एक भिडियो सन्देशमार्फत प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक अधिकारको पूर्ण प्रयोगका लागि मतदाता परिचयपत्र अनिवार्य रूपमा बनाउने आवश्यकता औंल्याइन्।
‘जेन–जी पुस्तासहित सम्पूर्ण नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिले हामीले आफ्नो मतदाता परिचयपत्र बनाउनुपर्छ,’ उनले भनिन्, ‘त्यसको सही प्रयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ, वा आफैं योग्य प्रतिनिधि बन्नुपर्छ।’
प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिहरूको अन्त्य र देशको समृद्ध भविष्य निर्माणका लागि प्रत्येक नागरिकले आफ्नो मताधिकार सचेत रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएकी छन्।




