काठमाडौं — नेपालले पहिलोपटक महिला महान्यायाधिवक्ता पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
यसअघि महान्यायाधिवक्ता रहेका रमेश बडालले आजै पदबाट राजीनामा दिएका थिए। त्यसपछि भण्डारीलाई प्रधानमन्त्री कार्कीले प्रस्ताव गरिन् र उनले स्वीकार गरेपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया अघि बढाएको हो।
नवनियुक्त महान्यायाधिवक्ता भण्डारी सूचना आयोगकी पूर्वआयुक्तसमेत हुन्। उनी न्यायिक वृत्तमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ कानुनविद् कृष्णप्रसाद भण्डारीकी छोरी हुन्।
यस नियुक्तिसँगै नेपालको न्यायिक इतिहासमा पहिलोपटक महिला महान्यायाधिवक्ता बनेकी छिन्, जसलाई महत्वपूर्ण उपलब्धि र महिला सशक्तीकरणको नयाँ कदमका रूपमा लिइएको छ।




