जेनजी आन्दोलन : ८ हजारभन्दा बढी कैदी अझै फरार

३ असोज, काठमाडौं ।

जेनजी आन्दोलनको क्रममा २४ भदौमा देशभरका कारागार र सुधारगृह तोडफोड गरेर भागेका मध्ये अझै पनि ८ हजार ३७५ कैदीबन्दी फरार रहेका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार, कारागारतर्फ ७ हजार ७५३ र सुधारगृहतर्फ ६२२ गरी कूल ८ हजार ३७५ कैदीबन्दी अझै फरार छन्।

यो आन्दोलनका क्रममा देशभरका २८ वटा कारागार र ९ वटा बाल सुधारगृहबाट जम्मा १४ हजार ५५५ कैदीबन्दी भागेका थिए। तीमध्ये कारागारतर्फ १३ हजार ५९१ र बाल सुधारगृहतर्फ ९६४ जना थिए।

यद्यपि अहिलेसम्म कारागारतर्फ ५ हजार ८३८ र बाल सुधारगृहतर्फ ३४१ गरी ६ हजार १७९ जना पुनः नियन्त्रणमा आएका छन्।

२४ भदौसम्म देशभरका कारागार र सुधारगृहमा जम्मा ३० हजार ६३४ कैदीबन्दी थिए। तीमध्ये १५ हजार ५२१ जना भने भाग्न सकेका थिएनन्।

यसबीच भाग्ने क्रममा सेनाले नियन्त्रण लिने क्रममा १० जनाको मृत्यु भएको पनि विभागले जनाएको छ। मृत्यु हुनेमा रामेछाप कारागारका ३, धादिङ कारागारका २ र नौबस्ता बाल सुधार गृहका ५ जना रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर