शेख र जोराको अर्धशतकले नेपालले वेस्ट इन्डिजलाई दियो १७४ रनको चुनौती

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहमा जारी टी–२० सिरिजको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोड्यो। इन्किङ्सको आधार ओपनर आशिफ शेख र मध्यक्रमका सन्दीप जोराले राखे। दुवैले उत्कृष्ट ब्याटिङ गर्दै क्रमशः ६८ र ६३ रन जोडे।

तर, अन्य ब्याटरले खास योगदान दिन सकेनन्। ओपनर कुशल भुर्तेल २ रनमा आउट भए भने कप्तान रोहित पौडेल ३ रनमै पाभिलियन फर्किए। कुशल मल्ल (७), गुल्शन झाले (६) र मोहम्मद आदिल आलम (११) ले पनि छोटो योगदान मात्रै दिए।

यसअघि सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज ९ विकेट गुमाउँदै १२९ रनमै रोकिएको थियो।

यो सिरिजमा वेस्ट इन्डिजले पाँच नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा मौका दिएको छ भने अनुभवी खेलाडीलाई आराम दिएको छ। नेपालका लागि यसलाई आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसरका रूपमा हेरिएको छ।

सिरिजपछि नेपाली टोली ओमान प्रस्थान गर्नेछ, जहाँ टी–२० विश्वकप छनोट खेल हुनेछ। समूह चरणमा नेपाल कुवेत र जापानसँग भिड्नेछ। समूहका शीर्ष दुई टोली सुपर–६ मा पुग्नेछन्।

सुपर–६ मा रहेका ६ टोलीमध्ये शीर्ष ३ मा स्थान बनाउन सक्ने हो भने नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा लगातार दोस्रो पटक प्रवेश पाउनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर