काठमाडौँ । मनसुनी वायु कमजोर हुँदै गरेको अवस्थामा बंगालको खाडिबाट विकसित न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएको छ। यस प्रणालीको प्रभावले असोज १७ गतेदेखि विभिन्न प्रदेशमा वर्षा बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज १७ (एकादशी) देखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, साथै कतिपय स्थानमा भारी वर्षा हुने सम्भावना छ।
असोज १८ (द्वादशी) मा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भई केही जिल्लामा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।
सबैभन्दा ठूलो जोखिम असोज १९ (त्रयोदशी) मा रहने देखिएको छ। त्यस दिन महाशाखाले रूपन्देही, नवलपरासी सुस्ता पूर्व र पश्चिम, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीमा अति भारी वर्षा हुने सम्भावना जनाउँदै रेड अलर्ट जारी गरेको छ।
यस दिन नारायणगढ–बुटवल, नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा सडक खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
यस वर्षको दसैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भएकाले जनसाधारणलाई सतर्क रहन विभागले सुझाव दिएको छ।
स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा




