१६ असोज, काठमाडौं । आगामी फागुनमा प्रतिनिधि सभाको चुनाव हुने पक्का भएपछि आगामी वर्षदेखि तीन तहका निर्वाचनको तालिका फेरिने भएको छ। यसअघि २०७४ र २०७९ मा प्रतिनिधि सभा र प्रदेश सभा एकैपटक भएका थिए, तर यसपटक भने संघ, प्रदेश र स्थानीय तहका चुनाव छुट्टै चरणमा हुनेछन्।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुनेछ। सो निर्वाचनबाट गठन हुने नयाँ सरकारको कार्यकाल २०८७ सम्म रहनेछ र यसले प्रदेश र स्थानीय तहको चुनाव गराउनेछ।
प्रदेश सभाको पछिल्लो चुनाव ४ मंसिर २०७९ मा भएको थियो। त्यसअनुसार प्रदेश सभाको पाँच वर्षे कार्यकाल पूरा हुँदा २०८४ को मंसिरतिर चुनाव हुनेछ। स्थानीय तहको पछिल्लो चुनाव ३० वैशाख २०७९ मा भएकाले २०८४ को वैशाख अन्तिमतिर फेरि चुनाव हुनेछ।
यसअघि तीन वटै तहको चुनाव एकसाथ हुँदा संघीय सरकार पनि परिवर्तन हुने अवस्थामा पुग्थ्यो। तर, यसपटक भने प्रतिनिधि सभा विघटन भई फागुनमा निर्वाचन हुने भएकाले प्रदेश र स्थानीय तहका चुनाव फरक–फरक चरणमा हुने स्पष्ट भएको छ।
भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि प्रतिनिधि सभा विघटन भएको हो। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। सोही सरकारले सिफारिस गरेअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेका हुन्।
यससँगै नेपालमा अबदेखि संघ, प्रदेश र स्थानीय तहका निर्वाचन अलग–अलग चरणमा हुने निश्चित भएको छ।




