लोबुचेमा उद्धारका लागि गएको हेलिकप्टर हिउँमा चिप्लियो, पाइलट सकुशल

सोलुखुम्बु — सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटनाग्रस्त भएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९एन-एमएस कलसाइनको उक्त हेलिकप्टर अवतरणका क्रममा हिउँमा चिप्लिएको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले बिहान करिब ७:५० बजे खुम्बु पासाङल्हामु गाउँपालिका–५, लोबुचेमा दुर्घटना भएको पुष्टि गरे। उनका अनुसार हेलिकप्टर पर्यटक उद्धारका लागि गएको थियो र यात्रु सवार थिएनन्।

‘हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा हेलिकप्टर हिउँमा चिप्लिएको हो। पाइलट विवेक खड्का सकुशल हुनुहुन्छ र उहाँ अर्को हेलिकप्टरमार्फत लुक्ला फर्किसक्नुभएको छ,’ डिएसपी कुँवरले बताए।

सोलुखुम्बु क्षेत्रमा हाल भारी हिमपात र खराब मौसमका कारण हवाई उद्धार र उडानमा जोखिम बढेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर