बुसान, दक्षिण कोरिया | राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको उच्चस्तरीय भेटवार्ता अपेक्षाभन्दा छिट्टै सकिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार, दुवै नेताबीचको वार्ता करिब १ घण्टा ४० मिनेटमा समाप्त भएको हो। वार्ता सम्पन्न भएपछि उनीहरू बुसानस्थित बैठकस्थलबाट बाहिरिएर आ–आफ्ना लिमोजिनतर्फ प्रस्थान गरेका थिए।
यसअघि ट्रम्पले उक्त बैठक करिब चार घण्टा चल्ने बताएका थिए, तर वार्ता अनुमानित समयभन्दा आधा अवधिमै सकियो। यो भेट एशिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (APEC) शिखर सम्मेलनको साइडलाइनमा भएको हो। दुवै नेताबीचको छलफल मुख्यतः व्यापार सम्झौता र द्विपक्षीय आर्थिक सम्बन्धका विषयमा केन्द्रित रहेको बताइएको छ।
बैठकमा दुवै पक्षबाट सात–सात जना प्रतिनिधि सहभागी थिए।
अमेरिकी पक्षबाट राष्ट्रपति ट्रम्पसँग विदेश मन्त्री मार्को रुबियो, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर, ट्रेजरी सचिव स्कट बेस्सेन्ट, वाणिज्य सचिव होवार्ड लट्नक, चीफ अफ स्टाफ सुसी वाइल्स र चीनका लागि अमेरिकी राजदूत डेविड पर्ड्यू सहभागी थिए।
त्यसैगरी, चिनियाँ पक्षबाट राष्ट्रपति सीसँग चीफ अफ स्टाफ काई क्यूई, विदेश मन्त्री वाङ यी, उप–विदेश मन्त्री मा झाओक्सु, उप–प्रधानमन्त्री हे लिफेङ, वाणिज्य मन्त्री वाङ वेनताओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ शानजी सहभागी थिए।




