लगातार वर्षापछि बीपी राजमार्ग अवरुद्ध, सञ्चालन कहिले हुने अनिश्चित

काठमाडौँ । लगातारको वर्षापछि आएको लेदोसहितको पहिरोका कारण शुक्रबारदेखि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। निरन्तर लेदो बगिरहेकाले सडक खुल्ने समयबारे अनिश्चितता बढेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार वर्षा रोकिएपछि मात्र पहिरो पन्छाउने काम सुरु गर्न सकिने अवस्था छ। उनले भने, “अहिले पानी निरन्तर परिरहेको छ, त्यसैले सडक कहिले खुल्छ भनेर निश्चित भन्न सकिँदैन। तर पानी रोकिएपछि डेढ–दुई घण्टाभित्र राजमार्ग सञ्चालनमा ल्याउन सकिन्छ।”

उनका अनुसार चारसय वेँसी, पिन्थली र मंगलटार क्षेत्रमा मुख्य रूपमा लेदो र हिलो बगिरहेको छ। साना ढुङ्गा र अवरोध हटाइए पनि लगातार बगिरहेको हिलोका कारण ती ठाउँमा सफा गर्ने कार्य कठिन बनेको हो।

स्थायी पुनर्निर्माण पनि प्रभावित

दसैँपछि सुरु गर्ने तयारीमा रहेको राजमार्गको स्थायी पुनर्निर्माण कार्य समेत वर्षाले रोकिएको छ। असोजको तेस्रो सातामा परेको निरन्तर वर्षाले बाढी र पहिरो ल्याउँदा अस्थायी सडकमा क्षति पुगेको थियो। तत्काल अस्थायी रूपमा मर्मत गरी राजमार्ग सञ्चालनमा ल्याइए पनि पुनः निरन्तर वर्षाले काम अवरुद्ध भएको प्रमुख योगेशले बताए।

उनका अनुसार, “पानी रोकिएपछि स्थायी पुनर्निर्माणको काम पनि सुरु हुन्छ, त्यसका लागि सबै तयारी पूरा भइसकेको छ।”
राजमार्गको डिजाइन परिवर्तन गर्नुपर्ने चर्चाबारे उनले भने, “पूरै डिजाइन परिवर्तन गर्नुपर्ने होइन, केवल एक–दुई स्थानमा सामान्य समीक्षा गर्नेबारे मात्र कुरा भएको हो।”

यसैबीच, निरन्तर वर्षाका कारण पूर्व–पश्चिम आवागमनमा कठिनाइ थपिएको छ र स्थानीय प्रशासनले यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर