काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी लाई निर्वाचन आयोगले राजनीतिक दलका रूपमा आधिकारिक मान्यता दिएको छ।
आयोगका अनुसार साम्पाङको पार्टीले मान्यता पाएसँगै मुलुकमा अब जम्मा १२५ वटा राजनीतिक दल दर्ता भइसकेका छन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार श्रम संस्कृति पार्टीलाई मान्यता पाउनुअघि देशभर १२४ वटा दल मात्र दर्ता थिए। “आजबाट एउटा नयाँ पार्टी थपिएको छ,” उनले बताए।
उनका अनुसार हाल १६ वटा नयाँ राजनीतिक समूहहरू दलका रूपमा दर्ता पाउने प्रक्रियामा छन्। “ती दलहरूमाथि छानबिन भइरहेको छ। प्रक्रिया पूरा भएपछि सम्बन्धित समूहहरूलाई राजनीतिक दलको प्रमाणपत्र प्रदान गरिनेछ,” घिमिरेले जानकारी दिए।




