टोकियो —
सन् २०२७ जुनदेखि जापानमा राष्ट्रिय स्वास्थ्य बीमा (National Health Insurance – NHI) नतिरेका विदेशी बसोबासकर्ताले आफ्नो भिसा नवीकरण गर्न नसक्ने भएका छन्। सरकारले यस कदमलाई “न्यायसंगत प्रणाली कार्यान्वयन” भन्दै सबैलाई समान दायित्व पूरा गर्न आग्रह गरेको छ।
जापानमा तीन महिनाभन्दा बढी बसोबास गर्ने सबै — चाहे नागरिक हुन् वा दीर्घकालीन विदेशी — सार्वजनिक स्वास्थ्य बीमामा अनिवार्य रूपमा नाम लेखाउनुपर्ने कानुनी व्यवस्था छ।
अब नयाँ नियमअनुसार, यदि तपाईं जापानमा बस्दै आउनुभएको विदेशी हो र NHI बीमा शुल्क (प्रिमियम) नियमित रूपमा नतिरेको पाइएमा, भिसा नवीकरण वा परिवर्तन अस्वीकार हुन सक्छ।
यसरी, भिसा आवेदनका क्रममा इमिग्रेशनले तपाईंको बीमा तिर्ने रेकर्ड जाँच गर्नेछ। जरिवाना वा बक्यौता बाँकी भएमा, तपाईंको आवेदन अस्वीकार हुनसक्छ, जसले बसोबास अनुमति गुमाउने खतरा निम्त्याउन सक्छ।
सरकारका अनुसार, यो कदमले ती loophole बन्द गर्ने उद्देश्य राखेको हो जहाँ केही व्यक्तिहरू बीमाबाट लाभ लिँदै तिर्ने जिम्मेवारीबाट पन्छिन्थे।
कसलाई बढी प्रभाव पर्नेछ?
-
काम, अध्ययन वा आश्रित भिसामा रहेका ती विदेशी जो कम्पनीमार्फत बीमामा आवद्ध छैनन्।
-
अंशकालीन कामदार वा स्वतन्त्र पेशाका व्यक्तिहरू, जसले शहर परिवर्तन गर्दा पुनःदर्ता गर्न बिर्सिन्छन्।
-
वा, त्यस्ता व्यक्तिहरू जसका कम्पनीले कानुनी रूपमा बीमा दर्ता गर्नुपर्ने भए पनि नगरेका छन्।
यदि तपाईंको कम्पनीले बीमामा दर्ता गरेन भने?
जापानमा यदि तपाईंले हप्तामा ३० घण्टा वा सोभन्दा बढी काम गर्नुहुन्छ भने, कम्पनीले अनिवार्य रूपमा तपाईंलाई शाकाइ होकेन (कर्मचारी सामाजिक बीमा) मा दर्ता गर्नुपर्छ। तर साना वा गैरकानुनी (“ब्ल्याक”) कम्पनीहरूले प्रायः यो नियम उल्लङ्घन गर्छन्।
कहिलेकाहीँ कम्पनीहरूले विदेशी कामदारलाई भ्रममा पार्छन् — “यो बीमा तपाईंका लागि होइन” वा “केवल स्थायी कर्मचारीका लागि मात्र हो” भनी। तर कानुनअनुसार, यदि तपाईं कम्पनीमार्फत बीमामा छैनन् भने, तपाईंले आफैं राष्ट्रिय स्वास्थ्य बीमा मा दर्ता हुनुपर्छ।
यदि कम्पनीले दर्ता नगरेर तपाईंको नाम पनि शहरमा नभएमा, तपाईं स्वतः बीमाविहीन बन्नुहुन्छ। यसबारे थाहा नपाई वर्षौं बितेपछि, जब तपाईं भिसा नवीकरणका लागि आवेदन दिनुहुन्छ, इमिग्रेशनले बीमा बक्यौता देखाएर तपाईंको आवेदन रोक्न सक्छ।
सरकारले यो नीतिलाई जापानमा बसोबास गर्ने सबैका लागि “न्यायसंगत योगदान सुनिश्चित गर्ने उपाय” भनेर व्याख्या गरेको छ।
सोर्स : जापानटुडेडटकम




