मेक्सिकोभरि ‘जेनेरेसन–जेड’ को विशाल प्रदर्शन : हिंसा नियन्त्रणमा सरकार उदासीन भएको आरोप

मेक्सिकोमा शनिबार हजारौँ युवा सडकमा उत्रिँदै देशव्यापी प्रदर्शन गरेका छन्। ‘जेनेरेसन–जेड’ (Gen-Z) समूहले सामाजिक सञ्जालमार्फत गरेको आह्वानपछि राजधानी मेक्सिको सिटीसहित विभिन्न सहरहरूमा प्रदर्शन तीव्र बनेको हो।

राजधानीमा प्रदर्शनकारीहरूले राष्ट्रपति क्लाउडिया सेइनबाउमको निवासतर्फ अगाडि बढेर प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। राष्ट्रपति भवन वरपर राखिएका बारहरू भत्काउने प्रयासपछि प्रहरीको हस्तक्षेपले स्थिति झनै तनावपूर्ण बनेको थियो।

बढ्दो हिंसा र अपराध रोकथाममा सरकार गम्भीर नबनेको आरोप लगाउँदै युवाहरू सडकमा उत्रिएका हुन्। नोभेम्बर १ मा मिचोआकान राज्यको उरूआपान नगरका मेयर कार्लोस म्यान्जोको सार्वजनिक कार्यक्रममै गोली हानी हत्या गरिएको घटनापछि सरकारप्रति आक्रोश तीव्र बनेको प्रदर्शनकारीहरूको भनाइ छ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ से अश्रु ग्यास प्रहार गरेको थियो। सार्वजनिक सुरक्षामन्त्री पाब्लो भास्केजका अनुसार झडपमा करिब १०० प्रहरी घाइते भएका छन्, जसमा ४० जनाको अस्पतालमा उपचार भइरहेको छ। २० सर्वसाधारण घाइते भएका छन् भने २० जना प्रदर्शनकारी पक्राउ परेका र अन्य २० जनामाथि प्रशासनिक कारबाही गरिएको अधिकारीहरूले जनाएका छन्।

देशका प्रमुख सहरहरूमा पनि प्रदर्शन फैलिएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति सेइनबाउम र उनको दलविरुद्ध नाराबाजी गर्दै ‘कार्लोसलाई सरकारले मारेको’ भन्ने आरोपसहितका प्लेकार्ड बोकेका थिए।

‘जेनेरेसन जेड मेक्सिको’ समूहले आफूहरू कुनै राजनीतिक दलसँग सम्बद्ध नभई हिंसा, भ्रष्टाचार र सत्ताको दुरुपयोगविरुद्ध आवाज उठाइरहेको दाबी गरेको छ। तर सरकार भने यी आन्दोलनहरू दक्षिणपन्थी विपक्षी दलहरूको उक्साहटमा सुरु गरिएको र सामाजिक सञ्जालमा ‘बोट’ प्रयोग गरी कृत्रिम रूपमा फैलाइएको आरोप लगाइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर