धादिङको भीषण दुर्घटना: ७० जना सवारमध्ये २ जनाको मृत्यु, दर्जनौं घाइते

पृथ्वीलोकमार्ग अन्तर्गत धुनिवेशी नगरपालिका–६ चालिसेमा शनिबार भएको बहुवाहन दुर्घटनामा ७० जना यात्रु परेको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार घाइतेहरूको विवरण संकलन गर्दा विभिन्न सात सवारी साधन दुर्घटनामा संलग्न रहेको पाइएको हो।

काठमाडौंतर्फ जाँदै गरेको भारतीय डिब्बा गाडी (नं. NL 01 AB 4654) को ब्रेक फेल भएपछि यसले विपरीत दिशातर्फका अन्य गाडीहरूलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा गोरखाबाट आउँदै गरेको यात्रुबाहक बस, गजुरी जाँदै गरेको बस, एक भारतीय यात्रुबाहक बस, चितवनको स्कुल बस, ट्रक र एक मोटरसाइकलसहित सातवटा सवारी साधन एकैपटक ठोक्किएका थिए।

मोटरसाइकल चालक धादिङ थाक्रे–७ का सेख अलिको उपचारका क्रममा साँझ ६:१५ बजे टिचिङ अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै पहिचान नखुलेका एक पुरुषको पनि सोही समयमा निधन भएको पुष्टि भएको छ। दुवै शव टिचिङ अस्पतालमै राखिएको छ।

दुर्घटनामा घाइते भएका यात्रुमध्ये गोरखा पालुङटारका विनोद पोखरेल, मिना पनेरू, इन्दिरा देवकोटा र काठमाडौं तार्केश्वरकी सिता पोखरेललाई गम्भीर चोट लागेर ट्रमा सेन्टरमा उपचार भइरहेको छ। लमजुङका अजय घिमिरे, उनकी श्रीमती सूर्य घिमिरे र छोरा कुशल घिमिरे सामान्य घाइते भई डिस्चार्ज भएका छन्।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको स्कुल बसमा सवार शिक्षक, विद्यार्थी तथा कर्मचारी गरी धेरैजना घाइते भएका थिए, जसमा अधिकांशको अवस्था सामान्य रहेको अधिकारीहरूले बताएका छन्। केहीलाई थप उपचारका लागि काठमाडौँस्थित अस्पतालमा रेफर गरिएको छ।

अन्य घाइतेहरूमा गोरखा, लमजुङ र आसपासका क्षेत्रका यात्रुसहित चीनका नागरिक—होउ लेई, लिया शुरोङ, ताङ दाएन र क्वीजे जियाङ्ग्यान पनि रहेका छन्। कुल ७० जना घाइते भएको पुष्टि प्रहरीले गरेको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ट्राफिक र सुरक्षाकर्मी खटिइ दुर्घटनाग्रस्त सडक खुलाउने काम गरिएको थियो। अवरुद्ध पृथ्वी राजमार्ग राति ११ बजेदेखि पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर