अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा आयात गर्दा २५ प्रतिशत भन्सार शुल्क लगाइने घोषणा गरेका छन्। उनले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत यो निर्णय तत्काल लागू हुने बताएका हुन्।
ट्रम्पका अनुसार, इरानसँग व्यापार गर्ने कुनै पनि देशले अमेरिकासँग व्यापार गर्दा अतिरिक्त भन्सार शुल्क तिर्नुपर्नेछ। यद्यपि, यस विषयमा ह्वाइट हाउसले औपचारिक विज्ञप्ति भने सार्वजनिक गरेको छैन।
अमेरिकाले लामो समयदेखि इरानमाथि कडा आर्थिक प्रतिबन्ध लगाउँदै आएको छ। विश्व बैंकका तथ्यांकअनुसार इरानका प्रमुख निर्यात गन्तव्य चीन, संयुक्त अरब इमिरेट्स र भारत रहेका छन्। भन्सार शुल्क भने अमेरिकी आयातकर्ताले तिर्नुपर्ने व्यवस्था हुन्छ।
इरानमा जारी प्रदर्शनलाई लिएर ट्रम्पले त्यहाँको सरकारले दमन गरेको आरोप लगाउँदै आएका छन्। पछिल्ला दुई सातामा करिब ५०० जनाको मृत्यु भएको र १० हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको जनाइएको छ। ट्रम्पले इरानी सरकारलाई प्रदर्शनकारीमाथि गोली नचलाउन बारम्बार चेतावनी दिएका छन्।
इरानमाथि दबाब बढाउन अमेरिकाले चारवटा सम्भावित विकल्पमा छलफल गरेको बताइएको छ। तीमध्ये सैन्य कारबाही, गोप्य साइबर आक्रमण, थप कडा प्रतिबन्ध, र सरकारविरोधी समूहलाई अनलाइन सहयोग गर्ने विकल्पहरू रहेका छन्। हाल ट्रम्प प्रशासनले थप कडा प्रतिबन्धको नीति कार्यान्वयनमा ल्याएको छ।
ट्रम्पले “हामीसँग अझ धेरै र कडा विकल्पहरू छन्” भन्दै आवश्यक परे थप कदम चाल्न सकिने संकेत दिएका छन्।
सम्भावित अमेरिकी कदमलाई लिएर इरान सतर्क रहेको बताइएको छ। सैन्य कारबाही भए मध्यपूर्वको क्षेत्रीय सन्तुलन थप अस्थिर हुने र इरानले इसराइल तथा अन्य अमेरिकी सैन्य संरचनामाथि हमला गर्न सक्ने चेतावनी समेत अधिकारीहरूले दिएका छन्।
यसैबीच, इरानमा अमेरिका र इसराइलको विरोधमा शान्तिपूर्ण र्याली आह्वान गरिएको छ। डिसेम्बर २८ देखि सुरु भएको प्रदर्शन तीव्र बन्दै गएपछि देशभर इन्टरनेट सेवा अवरुद्ध गरिएको छ, जसले सूचनाको आदानप्रदानमा कठिनाइ उत्पन्न गरेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानमा भइरहेको हिंसाप्रति दुःख व्यक्त गर्दै अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण भेलाको अधिकारको सम्मान गर्न आग्रह गरेका छन्।




