अन्तिम ओभरमा चुक्यो नेपाल, इंग्ल्यान्डसँग ४ रनको रोमाञ्चक हार

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो पहिलो खेलमा नेपालले बलियो प्रदर्शन गर्दै जितको नजिक पुगेर पनि इंग्ल्यान्डविरुद्ध ४ रनले हार व्यहोरेको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र बनाउन सक्यो।

अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक हुँदा नेपालले ५ रन मात्र जोड्न सक्यो र कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेन।

नेपालको संघर्षपूर्ण ब्याटिङ

नेपालका ओपनरद्वय आशिफ शेख ७ रन र कुशल भुर्तेल २९ रनमा आउट भए। उनीहरूबीच पहिलो विकेटका लागि ३.५ ओभरमा ३७ रनको साझेदारी भयो, जुन टी–२० विश्वकपमा नेपालको अहिलेसम्मकै ठूलो ओपनिङ साझेदारी हो। यसअघि सन् २०१४ मा सागर पुन र सुवास खकुरेलले ३६ रनको साझेदारी गरेका थिए।

भुर्तेलले १७ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने आशिफ डाउसनको बलमा क्याच आउट भए। त्यसपछि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए।

ऐरीले २९ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४४ रन बनाए। यसक्रममा उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा दुई हजार रन पूरा गर्ने पहिलो ब्याटर बने। ऐरी १५औं ओभरमा आउट भएपछि अर्को ओभरमा कप्तान रोहित पनि ३४ बलमा ३९ रन बनाएर पवेलियन फर्किए।

अन्तिम ओभरसम्मको रोमाञ्चक संघर्ष

रोहित र ऐरी आउट भएपछि आरिफ शेख र लोकेश बमले जिम्मेवारी सम्हाले। आरिफ १८औं ओभरमा १० रन जोडेर आउट भए। तर सोही ओभरमा लोकेश बमले जोफ्रा आर्चरलाई लगातार दुई छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्‍याए।

नेपाललाई अन्तिम दुई ओभरमा २४ रन चाहिएको थियो। १९औं ओभरमा १४ रन आए पनि विकेट गुम्दा दबाब बढ्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा लोकेश बमले संघर्ष जारी राखे तर अन्तिम बलमा आवश्यक छक्का ननिस्कँदा नेपाल ४ रनले हार्न बाध्य भयो। बमले २० बलमा ४ चौका र २ छक्कासहित ३९ रनको अविजित इनिङ खेले।

इंग्ल्यान्डको बलियो योगफल

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले जेकब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकको मद्दतमा २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

बेथेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित महत्वपूर्ण योगदान दिए भने कप्तान ब्रुकले ३२ बलमा ५३ रन जोडे। अन्तिम ओभरमा विल ज्याक्सले तीन छक्का प्रहार गर्दै १८ बलमा ३९ रनको अविजित इनिङ खेले।

नेपालका लागि डेब्यू खेल खेलेका शेर मल्लले पहिलो बलमै फिल साल्टलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाए। बलिङमा दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।

ऐरी यससँगै टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बने। कप्तान रोहित पौडेलले भने विश्वकपमा नेपालका लागि सबैभन्दा बढी खेलमा कप्तानी गर्ने कीर्तिमान पनि कायम गरे।

आगामी खेल तालिका

अब नेपालले दोस्रो खेल माघ २९ गते इटालीसँग खेल्नेछ। तेस्रो खेल फागुन ३ मा वेस्ट इन्डिज र अन्तिम समूह खेल फागुन ५ मा स्कटल्यान्डसँग हुनेछ। समूहका सबै खेल मुम्बईमै आयोजना हुनेछन्।

प्रतिक्रिया
सम्बन्धित खबर