काठमाडौं, २ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो मानिएको विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन्। उनले शुक्रबार उक्त निर्णयको पुष्टि गरेका हुन्।
राष्ट्रपति ट्रम्पका अनुसार विमानवाहक पोत चाँडै मध्यपूर्वतर्फ प्रस्थान गर्नेछ। इरानसँग सम्भावित सहमति नभएमा उक्त युद्धपोतको आवश्यकता पर्न सक्ने उनले बताएका छन्। बीबीसीले ट्रम्पलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेको हो।
यसअघि एसोसिएटेड प्रेसले क्यारेबियन सागर क्षेत्रमा रहेको उक्त विमानवाहक पोतलाई मध्यपूर्वतर्फ जान निर्देशन दिइएको जनाएको थियो। साथै, बीबीसी फारसीका अनुसार ट्रम्पले इरानमा शासन परिवर्तनको विषयमा पनि प्रतिक्रिया दिएका छन्। एक पत्रकारको प्रश्नमा उनले शासन परिवर्तन ‘सबैभन्दा राम्रो विकल्प हुन सक्ने’ बताएका छन्।
ट्रम्पको आदेशपछि अमेरिकी नौसेनाको सबैभन्दा आधुनिक विमानवाहक पोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ अब यूएसएस अब्राहम लिंकन र त्यससँग सम्बन्धित कार्यदलमा समावेश हुनेछ। अब्राहम लिंकन विमानवाहक पोत गत महिनाको अन्त्यतिर नै मध्यपूर्व क्षेत्रमा पुगेको थियो।
‘यूएसएस जेराल्ड आर फोर्ड’ परमाणु ऊर्जाबाट सञ्चालित विमानवाहक पोत हो। यसमा एफ–१८ लडाकु विमान र ई–२ हकआई चेतावनी विमानसहित ७५ भन्दा बढी लडाकु विमान बोक्ने क्षमता रहेको छ। परमाणु अभिक्रियकद्वारा सञ्चालित यो पोत लामो समयसम्म निरन्तर सञ्चालन गर्न सक्षम मानिन्छ।




