मुम्बई । आई सि सि मेन’स टि२० वर्ल्ड कप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो तेस्रो खेलमा नेपाल दुई पटकको च्याम्पियन वेस्ट इन्डिस क्रिकेट टिम सँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। लगातार तीन हार बेहोरेपछि नेपाल अंकविहीन रहँदै बाहिरिएको हो भने लगातार तीन जित निकालेको वेस्ट इन्डिज सुपर आठमा पुग्ने पहिलो टोली बनेको छ।
यसअघि नेपाल इंगलैंड क्रिकेट टिम र इटली क्रिकेट टिम सँग पराजित भएको थियो। समूह ‘सी’ मा वेस्ट इन्डिज ६ अंकसहित शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ। स्कटल्याण्ड र इटली समान २–२ अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
वेस्ट इन्डिजको सहज जित
वनखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५ दशमलव २ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो।
वेस्ट इन्डिजका कप्तान शाई होपले ४४ बलमा ५ चौका र ३ छक्कासहित अविजित ६१ रन बनाए। शिमरोन हेतमायरले ४६ रनको अविजित योगदान दिए। यी दुईबीच दोस्रो विकेटका लागि ९१ रनको अविजित साझेदारी भयो। ब्रान्डन किङले २२ रन जोडेका थिए।
नेपालका लागि नन्दन यादवले १ विकेट लिए।
दीपेन्द्रको अर्धशतक, सोमपालको योगदान
नेपालले कमजोर सुरुआत गरे पनि उपकप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्धशतकले सम्मानजनक योगफल खडा गर्यो। दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन बनाए। उनले ४४ बलमा अर्धशतक पूरा गरेका थिए।
दीपेन्द्र टी–२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा सुबास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
पहिलो खेल खेलिरहेका सोमपाल कामीले १५ बलमा ४ चौकासहित अविजित २६ रन जोडे। दीपेन्द्र र सोमपालबीच सातौं विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी भयो, जुन नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी रह्यो।
लोकेश बमले १३, आसिफ शेखले ११ तथा गुल्सन झाले ११ रन बनाए। पावर प्लेमा ३ विकेट गुमाएर मात्र २२ रन बनाउनु नेपालका लागि निर्णायक रूपमा महँगो सावित भयो।
सोमपालको कीर्तिमान
यस खेलसँगै सोमपाल कामी नेपालबाट तीन टी–२० विश्वकप खेल्ने एक मात्र खेलाडी बनेका छन्। उनले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपबाट डेब्यु गरेका थिए र त्यसयता नेपालले खेलेका सबै संस्करणमा सहभागिता जनाएका छन्। टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक ७ खेल खेल्ने कीर्तिमान पनि सोमपालकै नाममा छ।
नेपाल अब मंगलबार स्कटल्याण्डविरुद्ध अन्तिम खेल खेल्नेछ, जुन खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।




