यु स स अब्राहम लिन्कोलं इरान नजिक तैनाथ, मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिती थप सुदृढ

५ फागुन, काठमाडौं । अमेरिका र इरानबीच कूटनीतिक वार्ताको तयारी भइरहेका बेला अमेरिकाले आफ्नो शक्तिशाली विमानवाहक युद्धपोत यु स स अब्राहम लिन्कोलं इरान नजिकै तैनाथ गरेको पुष्टि भएको छ। मंगलबार स्विजरल्याण्डमा हुने अमेरिका–इरान वार्ताअघि यो कदम सार्वजनिक भएको हो।

वासिङ्टनले इरानको सैन्य कार्यक्रम र हालैका आन्तरिक प्रदर्शनमाथिको दमनप्रति दबाब बढाइरहेका सन्दर्भमा युद्धपोतको तैनाथीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। जनवरी अन्त्यतिर खाडी क्षेत्रमा पठाइएको भनिए पनि हालसम्म उपग्रह तस्वीरमा नदेखिएको उक्त युद्धपोत अहिले भने अरबियन महासगरमा, ओमानको तट नजिक देखिएको छ।

सार्वजनिक रूपमा उपलब्ध युरोपेली सेन्टिनेल–२ उपग्रह तस्वीर उद्धृत गर्दै बि बि सिले जनाएअनुसार युद्धपोत ओमानको तटबाट करिब २४० किलोमिटर दूरीमा रहेको पुष्टि भएको छ।

युद्धपोतको क्षमता र संरचना

यु स स अब्राहम लिन्कोलंले तीनवटा निर्देशित क्षेप्यास्त्र विनाशकसहित ‘वाहक प्रहार समूह’को नेतृत्व गरिरहेको छ। यसमा करिब ९० वटा युद्धक तथा सहयोगी विमान तैनाथ छन्, जसमा अत्याधुनिक लडाकु विमानसमेत समावेश छन्। करिब ५ हजार ६८० जना सैनिक यस युद्धपोतमा सवार रहेको बताइएको छ।

यसैबीच, विश्वकै ठूलो विमानवाहक युद्धपोत मानिने USS Gerald R. Ford लाई पनि मध्यपूर्वतर्फ पठाइएको खबर सार्वजनिक भएको छ। उक्त युद्धपोत आगामी केही साताभित्र क्षेत्रमा पुग्ने अनुमान गरिएको छ।

क्षेत्रीय सैन्य गतिविधि बढ्दो

पछिल्ला केही सातायता मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति उल्लेख्य रूपमा बढेको देखिएको छ। बीबीसी प्रमाणीकरण शाखाका अनुसार हालसम्म १२ वटा अमेरिकी युद्धपोत क्षेत्रभित्र रहेको पहिचान गरिएको छ। तीमध्ये तीनवटा आर्ले बर्क श्रेणीका विनाशक, लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सक्ने थप दुई विनाशक तथा तटीय लडाइँका लागि प्रयोग हुने तीन विशेष युद्धपोत बहराइन स्थित नौसैनिक अड्डामा तैनाथ छन्।

त्यस्तै, दुई विनाशक पूर्वी भूमध्यसागरस्थित सौदा खाडी नजिक र एक विनाशक रेड सि क्षेत्रमा देखिएको छ।

स्थलतर्फ पनि अमेरिकी हवाई गतिविधि बढेको उपग्रह तस्वीरले देखाएको छ। जोर्डनको मुवाफ्फाक सल्ती सैन्य अड्डामा लडाकु विमानहरूको संख्या वृद्धि भएको उल्लेख गरिएको छ। साथै अमेरिका र युरोपबाट मध्यपूर्वतर्फ मालवाहक, इन्धन आपूर्ति तथा सञ्चार सहयोगी विमानहरूको आवागमन समेत तीव्र बनेको छ।

वार्ता र तनावबीच सन्तुलनको प्रयास

यस बढ्दो सैन्य तैनाथीले इरानसँगको तनाव थप चर्किन सक्ने संकेत विश्लेषकहरूले गरेका छन्। यद्यपि, मंगलबार स्विजरल्याण्डमा हुने दोस्रो चरणको वार्तामा इरानले आफ्नो आणविक कार्यक्रम र अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध हटाउने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ। वासिङ्टनले भने अन्य सुरक्षा तथा क्षेत्रीय मुद्दासमेत छलफलमा ल्याउन चाहेको संकेत दिएको बताइएको छ।

मध्यपूर्वको बदलिँदो सुरक्षा समीकरणबीच कूटनीतिक प्रयास र सैन्य तयारी सँगसँगै अघि बढिरहेको देखिन्छ।

(स्रोत बि बि सि)

प्रतिक्रिया
सम्बन्धित खबर