पेट्रोलियम पदार्थको मूल्यमा १५ रुपैयाँ वृद्धि, आजदेखि नयाँ दर लागू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँले मूल्य बढाइएको हो। बढेको नयाँ मूल्य आजदेखि लागू भएको छ।

निगमका अनुसार पछिल्लो समय पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। यही कारणले आगामी दिनमा निगमलाई ठूलो आर्थिक भार पर्ने अनुमान गरिएको छ। १६ देखि ३१ मार्चसम्मको अवधिमा करिब ५ अर्ब रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ भने हालको मूल्य वृद्धिको प्रवृत्ति जारी रहे आगामी १५ दिनमा थप १५ अर्ब रुपैयाँ घाटा हुन सक्ने प्रक्षेपण गरिएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

त्यस्तै, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँ प्रतिलिटर तोकिएको छ भने तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १८७ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्यवृद्धिका कारण सिर्जित परिस्थितिमा सबै उपभोक्ता तथा सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ। साथै, पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नासाथ तत्काल समायोजन गरिने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर