नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा आयोजित समारोहमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको हो।

हस्ताक्षरअघि दुवै पक्षबीच आपसी हितका विषयमा छलफल भएको थियो। भेटवार्तामा दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य अघि बढाउने तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहयोग सुदृढ गर्ने विषयमा जोड दिइएको थियो। पर्यटन, शिक्षा तथा अन्य साझा हितका क्षेत्रमा अनुभव र असल अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ।

ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।

यो सम्बन्ध स्थापनाले नेपाल र ग्रेनाडाबीच द्विपक्षीय सहकार्य तथा अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक सहयोग विस्तार गर्ने आधार तयार गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर