इस्लामावाद वार्ता निष्कर्षविहीन: इरान–अमेरिका संवाद बिना सम्झौता टुंगियो

इस्लामावाद — इरानसँग महत्वपूर्ण वार्ताका लागि इस्लामाबाद पुगेको अमेरिकी प्रतिनिधिमण्डल कुनै सम्झौताबेगर स्वदेश फर्किएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेडी भान्स नेतृत्वको टोली वार्ता निष्कर्षमा नपुग्दै फिर्ता भएको हो।

द न्यू योर्क टाइम्सका अनुसार उपराष्ट्रपति भान्स सवार सरकारी विशेष विमान इस्लामावादबाट उडानको तयारीमा रहेको जनाइएको छ। फर्किनुअघि उनले सेरेना होटल इस्लामाबादमा सञ्चारकर्मीहरूसँग संक्षिप्त जानकारी दिँदै वार्तामा कुनै ठोस सहमति नभएको स्पष्ट पारे।

भान्सका अनुसार इरानी पक्ष अमेरिकी प्रस्तावहरू स्वीकार गर्न तयार देखिएन। यद्यपि कुन प्रस्तावमा असहमति रह्यो भन्नेबारे उनले खुलाएनन्। उनले अमेरिका वार्तामा लचिलो रहेको दाबी गर्दै आफ्ना स्पष्ट सीमारेखाहरू प्रस्तुत गरिएको बताए।

“हामीले केमा लचकता अपनाउन सक्छौं र केमा सक्दैनौं भन्ने स्पष्ट गर्‍यौं, तर ती सर्तहरू इरानले स्वीकार गरेन,” भान्सले भने।

यद्यपि उनले वार्तालाई पूर्ण रूपमा असफल भने घोषणा गरेनन्। “हामीले हाम्रो सबैभन्दा स्पष्ट र अन्तिम प्रस्ताव प्रस्तुत गरेका छौं, अब इरानले त्यसलाई स्वीकार गर्छ कि गर्दैन भन्ने हेर्न बाँकी छ,” उनले थपे।

वार्ताका क्रममा डोनाल्ड ट्रम्पसँग भान्सले पटक–पटक दूरभाषमार्फत कुराकानी गरेका थिए। अमेरिकी पक्षबाट विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर पनि सहभागी थिए।

इरानी टोलीमा मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघ्चीको उपस्थिति रहेको थियो।

यस वार्ताबाट तत्काल कुनै सहमति ननिस्किए पनि आगामी कूटनीतिक पहलहरूका लागि ढोका खुला नै रहेको संकेत गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर