बेइजिङमा ट्रम्प–सी शिखर वार्ता : व्यापार, ताइवान र इरानबारे गहन छलफल हुने

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने औपचारिक भ्रमणका लागि बुधबार चीनको राजधानी बेइजिङ पुगेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा भएको यस भ्रमणलाई विश्व राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रम्पलाई चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए। ट्रम्पको यो करिब नौ वर्षपछिको पहिलो चीन भ्रमण तथा नोभेम्बर २०१७ पछिको दोस्रो चीन भ्रमण हो।

भ्रमणका क्रममा ट्रम्प र सीबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति, आर्थिक सहकार्य तथा समसामयिक अन्तर्राष्ट्रिय विषयबारे विस्तृत छलफल हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेषगरी व्यापार, ताइवान, कृत्रिम मेधा र इरानसँग सम्बन्धित तनाव वार्ताका मुख्य कार्यसूची रहने अपेक्षा गरिएको छ।

भ्रमणअघि ट्रम्पले सीसँग इरानको अवस्थाबारे “लामो र गम्भीर छलफल” हुने बताएका थिए। यद्यपि उनले व्यापारलाई नै भ्रमणको मुख्य केन्द्रमा राखेका छन्।

विश्वव्यापी भू–राजनीतिक तनाव र आर्थिक अनिश्चितता बढिरहेका बेला दुई महाशक्ति राष्ट्रका नेताबीच हुन लागेको यो भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोपूर्वक हेरिरहेको छ। विश्लेषकहरूका अनुसार ट्रम्प–सी वार्ता केवल व्यापारिक प्रतिस्पर्धामा सीमित नभई विश्व शक्ति सन्तुलन र भविष्यको अन्तर्राष्ट्रिय व्यवस्थासँग पनि जोडिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर