पश्चिमी र स्थानीय वायुको प्रभाव कायम : आज सातै प्रदेशमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसको प्रभावका कारण अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई क्षेत्रमा समेत हल्का वर्षा हुन सक्ने जनाइएको छ।

महाशाखाले मधेस प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। उता, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने सम्भावना रहेकोले गर्मी बढ्न सक्ने अनुमान गरिएको छ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कर्णाली प्रदेशको हिमाली भूभाग र मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर