भारतको आन्ध्र प्रदेश सरकारले घट्दो जन्मदर र बढ्दो वृद्ध जनसंख्यालाई ध्यानमा राख्दै धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने घोषणा गरेको छ।
मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू ले श्रीकाकुलम जिल्लाको ताम्रापल्ली गाउँमा आयोजित कार्यक्रममा तेस्रो सन्तान जन्मिएमा ३० हजार भारतीय रुपैयाँ र चौथो सन्तान जन्मिएमा ४० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइने घोषणा गरेका हुन्।
उनका अनुसार राज्यमा प्रजनन दर (टोटल फर्टिलिटी रेट–टीएफआर) तीव्र रूपमा घटिरहेको छ। सन् १९९३ मा ३.० रहेको टीएफआर अहिले १.५ मा झरेको बताउँदै उनले जनसंख्याको सन्तुलन कायम राख्न कम्तीमा २.१ को दर आवश्यक पर्ने उल्लेख गरे।
मुख्यमन्त्री नायडूले घट्दो युवा जनसंख्या भविष्यमा आर्थिक विकासका लागि चुनौती बन्न सक्ने चेतावनी दिएका छन्। उनले जापान, दक्षिण कोरिया, इटाली र चीनजस्ता मुलुकमा वृद्ध जनसंख्या बढ्दा देखिएका आर्थिक समस्याको उदाहरण दिँदै आन्ध्र प्रदेशले पनि त्यस्तै अवस्था सामना गर्न सक्ने बताए।
राज्य सरकारले ल्याउन लागेको नयाँ जनसंख्या व्यवस्थापन नीतिअन्तर्गत दोस्रो वा सोभन्दा बढी सन्तान जन्माउँदा २५ हजार रुपैयाँ प्रसूति सहायता दिने प्रस्ताव गरिएको छ। साथै तेस्रो सन्तानका लागि पाँच वर्षसम्म मासिक एक हजार रुपैयाँ पोषण भत्ता र १८ वर्षसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्ने तयारी गरिएको छ।
यस्तै, तेस्रो सन्तान हुने परिवारका लागि अभिभावक बिदा सुविधा विस्तार गर्ने विषयमा पनि छलफल भइरहेको छ। प्रस्तावअनुसार १२ महिनासम्म अभिभावक बिदा तथा बाबुलाई दुई महिनाको पितृत्व बिदा दिने योजना अघि सारिएको छ।
सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल आन्ध्र प्रदेशमा करिब ५८ प्रतिशत परिवारमा एक जना मात्रै सन्तान छन् भने करिब २ लाख १७ हजार परिवारमा दुई वा बढी सन्तान रहेका छन्। सन् २०२३ मा राज्यमा करिब ६ लाख ७० हजार जन्म दर्ता भएका थिए। अहिलेको प्रवृत्ति जारी रहे सन् २०४७ सम्म राज्यको करिब २३ प्रतिशत जनसंख्या वृद्धवृद्धा हुन सक्ने अनुमान गरिएको छ।
(समाचार स्रोत: हिन्दुस्तान टाइम्स)




