अमेरिकी राष्ट्रपति निवास ‘ह्वाइट हाउस’ बाहिर शनिबार साँझ भएको गोलीकाण्डमा एक संदिग्ध व्यक्तिको मृत्यु भएको छ। अमेरिकी सुरक्षा निकायका अनुसार घटनामा एक बटुवा गम्भीर घाइते भएका छन् भने सुरक्षाकर्मी सुरक्षित रहेका छन्।
अमेरिकी गोप्य सुरक्षा सेवाका अनुसार स्थानीय समयअनुसार साँझ करिब ६ बजेतिर १७औँ सडक र पेन्सिलभेनिया मार्ग नजिक एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अचानक गोली चलाउन थालेका थिए।
घटनापछि सुरक्षाकर्मीले तत्काल जवाफी कारबाही गरेका थिए। गोली लागेर घाइते भएका ती संदिग्धलाई अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषित गरेका हुन्।
गोली प्रहारका क्रममा एक सर्वसाधारण बटुवासमेत घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको जनाइएको छ। सुरक्षा निकायका कुनै सदस्य भने घाइते नभएको बताइएको छ।
घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति निवासभित्रै रहेका थिए। उनी पूर्ण रूपमा सुरक्षित रहेको र सुरक्षामा कुनै असर नपरेको अमेरिकी गोप्य सुरक्षा सेवाले जनाएको छ। घटनापछि केही समयका लागि राष्ट्रपति निवास क्षेत्रमा ‘पूर्ण सुरक्षा नियन्त्रण’ लागू गरिएको थियो।
प्रत्यक्षदर्शी पत्रकारहरूका अनुसार घटनास्थलमा १५ देखि ३० चरणसम्म गोली चलेको आवाज सुनिएको थियो। गोली चल्न थालेपछि राष्ट्रपति निवासमा रहेका पत्रकारहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।
हाल अमेरिकी संघीय अनुसन्धान ब्युरो र अमेरिकी गोप्य सुरक्षा सेवाले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छन्।




