काराकास । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गएको दुईवटा शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ। राजधानी काराकास तथा वरपरका क्षेत्रहरू केन्द्रबिन्दु बनेको यस विपत्तिमा हालसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ हजार ३ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। सयौँ मानिस अझै पनि भत्किएका भवनका भग्नावशेषमा पुरिएको आशङ्का गरिएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
उद्धार टोलीहरू काराकास र तटीय सहर ला गुइरा लगायतका प्रभावित क्षेत्रमा दिनरात खटिएका छन्। भग्नावशेषभित्रबाट जीवित व्यक्तिहरूको आवाज सुनिएकाले खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको अधिकारीहरूले बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्प ७.२ परिमाणको थियो भने त्यसको केही सेकेन्डपछि ७.५ परिमाणको अर्को शक्तिशाली भूकम्प गएको थियो। पहिलो भूकम्प जमिनको सतहबाट करिब २०.३ किलोमिटर र दोस्रो १० किलोमिटर गहिराइमा केन्द्रित भएकाले कम्पन अत्यन्त शक्तिशाली बनेको र क्षति व्यापक भएको जनाइएको छ।
भूकम्प स्थानीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा, राष्ट्रिय बिदाको दिन गएको थियो। धेरै मानिस घरमै रहेका बेला आएको शक्तिशाली धक्काले सयौँ भवन भत्किएका छन् भने हजारौँ परिवार विस्थापित भएका छन्। घरहरू असुरक्षित बनेपछि प्रभावित नागरिकहरू खुला स्थान र सडकमा रात बिताउन बाध्य भएका छन्।
अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय सङ्कटकाल घोषणा गर्दै सम्पूर्ण सरकारी निकायलाई उद्धार तथा राहतमा केन्द्रित हुन निर्देशन दिएकी छन्। नेसनल एसेम्बलीका अध्यक्ष होर्गे रोड्रिगेजले मृतकको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको बताएका छन्।
विशेष गरी ला गुइरा क्षेत्रमा करिब २५० वटा भवन पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन्। त्यसमध्ये एउटा १० तले होटल पूर्ण रूपमा भत्किएको छ। राजधानी काराकाससँगै ट्रुहियो, याराकुई, काराबोबो, अरागुआ र मिरान्डा प्रदेश पनि गम्भीर रूपमा प्रभावित भएका छन्।
काराकास महानगरअन्तर्गतको चाकाओ क्षेत्रमा मात्रै एउटा भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने २३ जनालाई जीवितै उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ।
भूकम्पका कारण माइकेटिया अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि उडान सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। विद्युत् आपूर्ति र सञ्चार सेवा अवरुद्ध भएकाले वास्तविक क्षतिको विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको छ।
मुख्य भूकम्पपछि हालसम्म ३० भन्दा बढी पराकम्प महसुस भइसकेका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणले प्रभावित क्षेत्रको जनघनत्व, भवनको कमजोर संरचना तथा भूकम्पको तीव्रतालाई आधार मानेर मानवीय क्षति अझै बढ्न सक्ने चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय समुदायले भेनेजुएलालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिकाले १५ करोड अमेरिकी डलर बराबरको आपत्कालीन सहायता घोषणा गर्दै खोज तथा उद्धार टोली, सैन्य विमान, चिकित्सा सामग्री तथा राहत सामग्री पठाउने जनाएको छ। डोमिनिकन गणराज्य, एल साल्भाडोर, मेक्सिको र कतारले पनि उद्धार तथा राहत अभियानमा सहयोग गरिरहेका छन्।
भूकम्पको धक्का छिमेकी कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो। सन् १९०० यताकै यो भेनेजुएलामा गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। यसअघि सन् १९६७ मा गएको विनाशकारी भूकम्पमा करिब २०० जनाले ज्यान गुमाएका थिए।
उद्धारकर्मीहरू अझै पनि भग्नावशेषभित्र फसेकाहरूको खोजीमा जुटिरहेका छन्। अधिकारीहरूले नागरिकलाई सुरक्षित स्थानमा बस्न, अफवाहमा विश्वास नगर्न तथा पराकम्पबाट सतर्क रहन आग्रह गरेका छन्।




