२४ असोज, काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आज आश्विन कृष्ण औँसीका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।
पितृ पक्षको अन्तिम दिन आज औँसी श्राद्ध गरिन्छ। यस अवधिमा आफ्ना दिवंगत पितृको सम्झनामा श्रद्धा र भक्तिपूर्वक श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा छ। कुनै कारणवश पितृ पक्षका अन्य तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज औँसीका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।
आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह अर्थात् आमाका बुबाको श्राद्ध भने भोलि आइतबार गरिनेछ। पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी १६ तिथिमा दिवंगत पितृका नाममा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार कुनै कारणवश आज पनि श्राद्ध गर्न नसकिएमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म गर्न सकिने शास्त्रीय व्यवस्था छ। उक्त अवधिमा पनि गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन श्राद्ध गर्न सकिने मान्यता छ। त्यस दिनसमेत सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म अनुकूल समय मिलाएर गर्न सकिने शास्त्रीय मत रहेको उहाँले बताउनुभयो।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईका अनुसार आश्विन शुक्ल पञ्चमीपछि अष्टमी, द्वादशी र औँसीका दिन, साथै भरणी नक्षत्र तथा व्यतीपात योग परेको समयमा पनि रोकिएको श्राद्ध गर्न सकिने विकल्प धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ।
त्यसपछि पनि श्राद्ध गर्न सम्भव नभएमा आफ्नो क्षमताअनुसार आफैँ वा ब्राह्मणमार्फत वैदिक मन्त्रको दैनिक १०८ पटक जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले जानकारी दिनुभयो।
सोह्र श्राद्धका अवसरमा काठमाडौं उपत्यकाको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट तथा त्रिवेणीलगायतका तीर्थस्थलमा पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने भक्तजनको भीड लाग्ने गर्छ। यी स्थानमा दिवंगत पितृप्रति श्रद्धा व्यक्त गर्दै धार्मिक विधिअनुसार कर्म गर्ने परम्परा रहिआएको छ।
सोह्र श्राद्धको समापनसँगै दसैँको चहलपहल सुरु
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँको धार्मिक तयारी सुरु हुन्छ। असोज २५ गते घटस्थापना गरेसँगै दुर्गा पक्ष आरम्भ हुनेछ। घटस्थापनाबाट सुरु हुने नवरात्रमा शक्तिस्वरूपा नवदुर्गाको पूजा–आराधना गरिन्छ। यससँगै नेपालीहरूको प्रमुख चाड बडादसैँको उल्लास र चहलपहल पनि बढ्दै जानेछ।




