२८ असोज, काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच द्विपक्षीय भेटवार्ता भएको छ। भारतको नयाँ दिल्लीमा मंगलबार भएको भेटवार्तामा दुई देशबीचको सुरक्षा सहकार्य सुदृढ बनाउने तथा नेपाली उद्योगी–व्यवसायीले भारतीय बजारमा प्रवेश गर्दा भोग्दै आएका समस्याबारे छलफल भएको छ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन नयाँ दिल्ली पुगेका गृहमन्त्री गुरुङले भारतीय समकक्षी शाहसँग भेटवार्ता गरेका हुन्।
गृह मन्त्रालयका अनुसार भेटमा नेपाल र भारतबीच साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचारविमर्श भएको थियो। दुवै देशको आपसी हित र सुरक्षासँग सम्बन्धित विषयमा सहकार्यलाई मजबुत बनाउने विषयले भेटवार्तामा प्राथमिकता पाएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यवसायीले भारतीय बजारमा आफ्नो उत्पादन पुर्याउने क्रममा भोग्दै आएका प्राविधिक कठिनाइप्रति पनि भारतीय समकक्षीको ध्यानाकर्षण गराएका थिए। विशेषगरी भारतीय मानक ब्युरो (बीआईएस) बाट प्राप्त गर्नुपर्ने प्रमाणीकरणलगायतका प्रक्रियामा देखिएका समस्याले नेपाली व्यवसायीलाई पारेको प्रभावबारे उनले चासो व्यक्त गरेका थिए।
नेपालले उठाएका विषयप्रति भारतीय गृहमन्त्री शाहले सकारात्मक प्रतिक्रिया दिएको गृह मन्त्रालयले जनाएको छ। यी समस्याको समाधानका लागि दुई देशबीच आवश्यक समन्वय र सहकार्यले नेपाली उद्योगी–व्यवसायीलाई भारतीय बजारमा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गृहमन्त्री गुरुङ बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गरेका थिए। उनी असोज २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ।




