गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित, खड्गीले पाए ३७५ मत

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनको मतगणना सम्पन्न भएसँगै थापा सभापतिमा निर्वाचित भएको घोषणा गरिएको हो।

काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा शुक्रबार रातिदेखि सुरु भएको मतगणना शनिबार बिहान सम्पन्न भएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले जानकारी दिए।

गौतमका अनुसार सभापतिमा निर्वाचित थापाले ६ हजार ५८४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने ३७५ मत पाएका छन्। निर्वाचनमा ५४ मत बदर भएको जनाइएको छ।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि रहेका थिए। तीमध्ये ७ हजार ३९ जनाले मतदानमा भाग लिएका थिए।

सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदका मतपेटिका भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगिएको छ। अन्य पदको मतगणना र परिणामसम्बन्धी प्रक्रिया त्यसपछि अघि बढाइनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर