गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जिल्ला जोड्ने आरूघाटस्थित पक्की पुलको एक खण्ड बगाएको छ। नदीमा जलसतह खतराको तहभन्दा अत्यधिक बढेपछि आरूघाट बजारसमेत खाली गराइएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार आरूघाट गाउँपालिका–९, नयाँ पुलस्थित पक्की पुलका तीन खण्डमध्ये गोरखातर्फको एउटा खण्ड बाढीले बगाएको हो।
बूढीगण्डकीमा जलसतह तीव्र रूपमा बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै आरूघाट बजार खाली गराइएको प्रहरी निरीक्षक कँडेलले जानकारी दिए। उनका अनुसार नदीको जलसतह अझै घटेको छैन।
माथिल्लो क्षेत्रमा नदीको बहाव र जलसतहमा उतारचढाव भइरहे पनि तल्लो तटीय क्षेत्रमा पानीको सतह घटेको देखिएको छैन। नदी थुनिएको माथिल्लो क्षेत्रमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेको उनले बताए।
बाढीका कारण गोरखा र धादिङ जोड्ने पुलको एक खण्ड बग्नुका साथै आरूघाट बजारसमेत जोखिममा परेपछि स्थानीय क्षेत्रमा सतर्कता अपनाइएको छ। नदीको जलसतह नघटेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई थप जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सावधानी अपनाउनुपर्ने देखिएको छ।




