कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

२४ असोज, काठमाडौं । देशका विभिन्न भूभागमा आज शनिबार मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ।

त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

शनिबार दिउँसो कोशी प्रदेशका सबै भूभागसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। तराईका क्षेत्रमा भने आंशिक बदली रहने अनुमान छ।

रातिको समयमा देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। यद्यपि, तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातसमेत हुन सक्ने मौसम पूर्वानुमान छ।

यसअघि पछिल्लो २४ घण्टामा पनि देशका केही स्थानमा भारी वर्षा भएको थियो भने विभिन्न क्षेत्रमा मध्यम वर्षा भएको थियो।

मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर