काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोपछि खोज, उद्धार र राहत कार्य जारी रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ९ गते साँझ ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीजन्य विपद्मा कुल १,४५३ जनाको मृत्यु भएको जनाएको छ।
प्राधिकरणका अनुसार सबैभन्दा बढी मानवीय क्षति चितवनमा ३६८, रसुवामा २३६, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२ र नुवाकोटमा २०४ जनाको भएको छ।
त्यस्तै, विपद्पछि कुल ५,२८५ जना बेपत्ता रहेको विवरण छ। यसमध्ये रसुवामा ठूलो संख्यामा मानिस बेपत्ता छन्। विदेशी नागरिकतर्फ पनि बेपत्ता हुनेको विवरण सार्वजनिक गरिएको छ।
१३,७९५ जनाको उद्धार
प्राधिकरणका अनुसार हालसम्म १३,७९५ जनाको उद्धार गरिएको छ। विभिन्न अस्पतालमा ७ जना उपचाररत छन् भने विभिन्न सुरक्षा निकायबाट उद्धार तथा उपचार गरिएका १०,९८८ जनाको विवरण पनि सार्वजनिक गरिएको छ।
२० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि २०,४७७ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार, बेपत्ताको खोजी तथा राहत वितरणलाई निरन्तरता दिइएको छ।
विस्थापित परिवारलाई वैकल्पिक बसोबास र जीविकोपार्जन सहयोग
होल्डिङ सेन्टरमा बस्न नचाहने प्रभावित परिवारलाई वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेल बढीमा ६ महिनासम्म बसोबास तथा जीविकोपार्जनका लागि प्रति परिवार मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ। परिवारमा पाँचभन्दा बढी सदस्य भए प्रत्येक थप सदस्यका लागि २ हजार रुपैयाँ थप प्रदान गरिने प्राधिकरणले जनाएको छ।
हाल २१ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना रहेको विवरण सार्वजनिक गरिएको छ।
नोट: प्राधिकरणले सार्वजनिक गरेको विवरणमा सम्पर्कविहीन, उद्धार गरिएका तथा दोहोरिएका विवरणका कारण केही तथ्यांकमा फेरबदल हुन सक्ने जनाएको छ।




