नारायणी नदीमा उच्च बाढीको जोखिम, जलसतह ११ मिटर नाघ्यो; १३ मिटरसम्म पुग्न सक्ने पूर्वानुमान

काठमाडौं । नारायणी नदीमा जलसतह खतराको तह पार गर्दै निरन्तर बढिरहेको भन्दै जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको जल विज्ञान तथा मौसम विज्ञान अनुसन्धान केन्द्रले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

केन्द्रले जारी गरेको विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिनअनुसार नारायणी नदीमा हालको जलसतह खतराको तहभन्दा माथि अर्थात् करिब ११ मिटर पुगेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी आसपासका क्षेत्रमा बाढीको जोखिम उच्च रहेको जनाइएको छ।

उपलब्ध बाढी मापन तथा पूर्वानुमानका आधारमा देवघाट बाढी मापन केन्द्रमा नारायणी नदीको जलसतह आज दिउँसोसम्म बढ्ने क्रम जारी रहने अनुमान गरिएको छ। सो अवधिमा जलसतह करिब १३ मिटर आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ।

सहायक नदीमा पनि उच्च बहाव

नारायणी नदीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा बहाव खतराको तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको जनाइएको छ। त्यस्तै सेती, मादी, मर्स्याङ्दी, दरौँदी र चेपे नदीमा पनि बहाव उच्च तथा बढ्दो क्रममा रहेको छ।

यसैगरी बुढीगण्डकी र त्रिशूली नदीमा समेत बहाव सतर्कताको तह नजिक पुगेको र बढ्दो क्रममा रहेको बुलेटिनमा उल्लेख छ।

चितवन र नवलपरासीमा बाढी तथा डुबानको जोखिम

नारायणी नदीमा बढ्दो जलसतहका कारण चितवन तथा नवलपरासी जिल्लाका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढी र डुबानको जोखिम उच्च रहेको छ।

विशेषगरी नदी किनार, तटीय क्षेत्र, तल्लो भूभाग तथा कमजोर तटबन्ध वा संरचना भएका स्थानमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ।

नदी किनारमा आवतजावत नगर्न आग्रह

सम्बन्धित निकायले नारायणी तथा यसका सहायक नदीहरूको तटीय क्षेत्रमा आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

बाढीको जोखिम रहेका नदी किनार, पुल, तटबन्ध तथा अन्य जोखिमयुक्त स्थानमा अनावश्यक भीड नगर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

त्यस्तै कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदी तथा तिनका शाखा खोलानालामा समेत उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने बाढीसम्बन्धी सूचना र निर्देशनको पालना गर्न समेत सर्वसाधारणलाई आग्रह गरिएको छ।

सावधानी: नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा रहेका नागरिकले सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यक परेमा तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ स्थानान्तरण हुन तयारी अवस्थामा रहनु आवश्यक छ।

प्रतिक्रिया
सम्बन्धित खबर