काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८३ सालको बडादशैंका विभिन्न पर्व तथा पूजा–अनुष्ठानका लागि शुभ साइत सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको विजयादशमीको टीकाको साइत बिहान १० बजेर २४ मिनेटमा रहेको छ।
समितिका अनुसार असोज २५ गते शनिबार बिहान ९ बजेर ४७ मिनेटमा घटस्थापनाको साइत रहेको छ। त्यसैगरी असोज २६ गते सोमबार बिहान १० बजेर १० मिनेटमा खण्डा फेर्ने साइत रहेको छ।
असोज २९ गते बुधबार श्री पचलीभैरव यात्रा हुनेछ भने असोज ३१ गते शनिबार बिहान ७ बजेर ३० मिनेटमा फूलपाती तथा श्री तुलजाभवानी यात्रा र बिहान १० बजेर ३९ मिनेटमा स्थिरासनको साइत तोकिएको छ।
त्यस्तै, कात्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ। कात्तिक ३ गते मंगलबार महानवमी तथा विजयादशमीको देवी विसर्जन हुनेछ। देवी विसर्जनको साइत बिहान ४ बजेर ४८ मिनेटमा रहेको समितिले जनाएको छ।
कात्तिक ४ गते बुधबार विजयादशमीको मुख्य दिन टीका लगाउने साइत बिहान १० बजेर २४ मिनेटमा तोकिएको छ। सोही दिन बिहान १० बजेर ५१ मिनेटमा श्री तुलजाभवानी यात्रा, दिउँसो २ बजेर ४२ मिनेटमा स्थिरासन तथा खड्गयात्रा हुनेछ।
यसैगरी कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूर्णिमा पूजा हुनेछ।
समितिले सामान्यतया देवीको प्रसादस्वरूप टीका तथा जमरा लगाउन साइतको आवश्यकता नपर्ने स्पष्ट गरेको छ। परिवार तथा आफन्तको अनुकूल समयअनुसार पनि टीका–जमरा ग्रहण गर्न सकिने जनाइएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेर विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वका शुभ साइत निर्धारण गर्दै आएको छ।




