दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन, ७५ वर्षको उमेरमा लिए अन्तिम सास

काठमाडौं । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचारअनुसार उनको निधन कार्डियक अरेस्टका कारण भएको हो।

पाटेकरको आज बिहान ५ बजेर २० मिनेटमा निधन भएको जनाइएको छ। उनलाई बचाउने प्रयासस्वरूप करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिइए पनि चिकित्सकीय प्रयास सफल हुन नसकेको समाचारमा उल्लेख छ।

हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता पाटेकर आफ्नो दमदार अभिनय, प्रभावशाली संवाद प्रस्तुति र फरक शैलीका कारण भारतीय सिनेमामा छुट्टै पहिचान बनाउन सफल थिए। अभिनयसँगै उनी फिल्म निर्माता, निर्देशक तथा लेखकका रूपमा पनि सक्रिय थिए।

सन् १९५१ जनवरी १ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा जन्मिएका पाटेकरले सन् १९७८ मा प्रदर्शित ‘गमन’बाट हिन्दी सिनेमामा प्रवेश गरेका थिए। सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै भाषाका चलचित्रमा काम गरे।

सन् १९८८ मा मिरा नायर निर्देशित ‘सलाम बम्बे!’मा उनको अभिनयले व्यापक प्रशंसा पायो। त्यसको एक वर्षपछि प्रदर्शित ‘परिन्दा’ उनको अभिनय करियरको महत्वपूर्ण मोड बन्यो। उक्त चलचित्रमा ग्याङ्स्टरको भूमिकाका लागि उनले राष्ट्रिय फिल्म पुरस्कार तथा फिल्मफेयर अवार्ड प्राप्त गरेका थिए।

लामो चलचित्र यात्राका क्रममा पाटेकरले विभिन्न प्रकारका चुनौतीपूर्ण भूमिका निर्वाह गरे। ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित चलचित्र हुन्।

गम्भीर र दमदार भूमिकामा आफूलाई स्थापित गरेका पाटेकरले हास्य तथा व्यावसायिक चलचित्रमा समेत दर्शकको मन जिते। विशेषगरी ‘वेलकम’मा उनले निर्वाह गरेको उदय शेट्टीको भूमिकाले उनको हास्य अभिनयको पक्षलाई पनि लोकप्रिय बनाएको थियो।

पाटेकर पछिल्लो पटक विशाल भारद्वाज निर्देशित रोमान्टिक एक्सन थ्रिलर ‘ओ’रोमियो’मा देखिएका थिए। सन् २०२६ फेब्रुअरीमा रिलिज भएको उक्त चलचित्रमा शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए। चलचित्रमा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निर्वाह गरेका थिए।

भारतीय सिनेमामा पाँच दशकभन्दा लामो योगदान दिएका पाटेकरको निधनले हिन्दी तथा मराठी चलचित्र क्षेत्रमा ठूलो क्षति पुगेको छ।

 

प्रतिक्रिया
सम्बन्धित खबर