लगातार दोस्रो वर्ष फाइनलमा सुदूरपश्चिम, विराटनगर ७८ रनमै समेटिँदा एकपक्षीय जित

२३ मंसिर, काठमाडौं ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम युनाइटेडले विराटनगर किंग्सलाई एकपक्षीय रूपमा पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो संस्करणमा जस्तै यसपटक पनि सुदूरपश्चिम फाइनल पुग्ने पहिलो टिम बनेको हो।

मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १५६ रनको मध्यम लक्ष्य पछ्याउन उतरेको विराटनगर १४.१ ओभरमै ७८ रनमा अलआउट हुँदै पराजित भयो। लिग चरणको अन्तिम खेलमा विराटनगरसँग भोगेको हारको मीठो बदला पनि सुदूरपश्चिमले यसै खेलमार्फत लिएको छ।

विराटनगरका लागि ओपनर फाफ डु प्लेसीले ३६ रन बनाए पनि बाँकी ब्याट्सम्यान सुदूरपश्चिमका धारिला बलर सामु टिक्न सकेनन्। स्कट कुगेलेइन, हर्मीत सिंह र अविनाश बोहराले २–२ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले १–१ विकेट हात पारे। दुई खेलाडी रनआउट भएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १५५ रनको चुनौती दिएको थियो। ओपनर विनोद भण्डारीले ५२ बलमा ६३ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ३ चौका र २ छक्का प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धी योगफलसम्म पुर्‍याए। जारी लिगमा यो उनको दोस्रो अर्धशतक हो। शेल्डन ज्याक्सन र आरिफ शेखले पनि २०–२० रन थपे।

बलिङतर्फ विराटनगरका मर्चेन्ट डे लाङ र प्रतिश जिसीले २–२ विकेट लिए भने सूर्य तामाङ र साम हिजलेटले १–१ विकेट हात पारे।

अब सुदूरपश्चिमले शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
विराटनगरलाई भने फाइनल यात्राका लागि अर्को मौका छ—बुधबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको एलिमिनेटर विजेतासँग बिहीबार दोस्रो क्वालिफायर खेल्दै।

प्रतिक्रिया
सम्बन्धित खबर