ओमानमा इरान–अमेरिका वार्ता: बढ्दो तनाव घटाउने प्रयास

२३ माघ, काठमाडौं । इरानका विदेश मन्त्री अब्बास अरागची अमेरिकी प्रतिनिधिसँग वार्ता गर्न ओमान पुगेका छन्। क्षेत्रीय तनाव बढिरहेका बेला अरागचीको नेतृत्वमा गएको इरानी प्रतिनिधिमण्डलले शुक्रबार ओमानको राजधानी मस्कटमा अमेरिकी पक्षसँग प्रत्यक्ष संवाद गर्दैछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको चेतावनी दिँदै आएको सन्दर्भमा यो वार्तालाई विशेष महत्वका साथ हेरिएको छ। ट्रम्प प्रशासनले इरानलाई आफ्नो आणविक कार्यक्रम सीमित गर्ने नयाँ सम्झौता गर्न दबाब दिइरहेका बेला इरानले भने आणविक विषयमा संवाद गर्न तयार भए पनि क्षेप्यास्त्र कार्यक्रम सीमित गर्ने विषयमा कुनै सम्झौता नहुने स्पष्ट अडान लिँदै आएको छ।

अमेरिकी पक्षका अनुसार मस्कटमा हुने वार्ता स्थानीय समयअनुसार बिहान १० बजे सुरु हुनेछ। वार्ताप्रति दुवै पक्षले चासो देखाएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई नजिकबाट नियालिरहेको छ।

यो संवादले मध्यपूर्वमा बढ्दो तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि अमेरिकाले सैन्य कारबाहीको संकेत गरेपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईले इरानमाथि आक्रमण भए सम्पूर्ण क्षेत्रमा युद्ध फैलिन सक्ने कडा चेतावनी दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खबर