आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज आफ्नो समूह चरणको अन्तिम खेल खेल्दैछ। समूह ‘सी’ मा रहेको नेपालले मंगलबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल भारतको मुम्बईस्थित वानखेडे रंगशालामा बेलुकी सवा ७ बजे सुरु हुनेछ।
नेपाल यसअघि खेलेका तीनवटै खेलमा पराजित भएको छ। पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि टोली ४ रनले पराजित भएको थियो। त्यसपछिका खेलहरूमा भने नेपालले अपेक्षित लय समात्न सकेन। इटालीसँग १० विकेट र वेस्ट इण्डिजसँग ९ विकेटको फराकिलो हार व्यहोरेको थियो।
आजको खेल दुवै टोलीका लागि प्रतिष्ठाको मात्र हुनेछ, किनकि यस समूहबाट इंग्ल्याण्ड र वेस्ट इण्डिजले सुपर–८ (अन्तिम आठ) चरणमा स्थान बनाइसकेका छन् भने नेपाल, स्कटल्याण्ड र इटाली प्रतियोगिताबाट बाहिरिसकेका छन्।
खेलअघि नेपाली टोलीका परामर्शदाता प्रशिक्षक निक पोथसले स्कटल्याण्डविरुद्ध खेल्दा खेलाडीहरूले अघिल्ला गल्ती नदोहोऱ्याउनुपर्नेमा जोड दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले खेलाडीहरूले अझै सोचविचारसहित प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्नुपर्ने बताएका छन्।
“स्कटल्यान्डविरुद्धको खेलमा हामी राम्रो प्रतिस्पर्धा र एउटै गल्ती पटक–पटक नदोहरिएको हेर्न चाहन्छौँ। यही नै सबैभन्दा महत्वपूर्ण कुरा हो,” उनले भने। समर्थकहरूको साथ उल्लेख गर्दै उनले विश्वकपलाई सुखद सम्झनाका रूपमा टुंग्याउने लक्ष्य रहेको पनि स्पष्ट पारे।
इंग्ल्याण्डविरुद्धको खेलमा टोलीले योजना सफलतापूर्वक कार्यान्वयन गरेको स्मरण गर्दै उनले निरन्तरताको आवश्यकता औंल्याए। “एउटा राम्रो खेलले मात्र टोली उत्कृष्ट हुँदैन। उत्कृष्ट बन्न प्रदर्शनमा निरन्तरता आवश्यक छ। स्कटल्यान्डविरुद्ध सकारात्मक नतिजासहित विश्वकपबाट बिदा हुन सके आगामी ५० ओभरका एकदिवसीय खेलहरूका लागि आत्मविश्वास बढ्नेछ,” उनले भने।
नेपाल आज जितसहित प्रतियोगिताबाट सकारात्मक सन्देश दिने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ।




