निर्वाचन हुन अब १५ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले प्रविधिको दुरुपयोग नगर्न सबै सरोकारवालालाई विशेष आग्रह गरेको छ। प्रविधिको गलत प्रयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर असर पर्न सक्ने भन्दै आयोगले सतर्क रहन ध्यानाकर्षण गराएको हो।
आयोगले सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना प्रसारण नगर्न र नगराउन आम सञ्चारमाध्यम, राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणसँग सहयोगको अपेक्षा गरेको छ। विशेषगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरेर तयार गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नफैलाउन आयोगले आग्रह गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान सम्पन्न हुनुअघि नै मतदातासँगको कुराकानीका आधारमा हार–जीतको अनुमान सार्वजनिक गर्ने वा मत सर्वेक्षणको नतिजा प्रचार गर्ने प्रवृत्तिप्रति आयोग गम्भीर रहेको बताए। यस्ता गतिविधिले मतदाताको स्वतन्त्र निर्णय प्रक्रियामा असर पार्न सक्ने उनको भनाइ छ।
निर्वाचन आचारसंहिता, २०८२ अनुसार मतदातालाई प्रभावित पार्ने खालका पूर्वानुमान वा अपुष्ट नतिजा सार्वजनिक गर्नु आचारसंहिताको मर्मविपरीत हुने आयोगले स्पष्ट पारेको छ। यस्ता कार्यले उम्मेदवारलाई हतोत्साही बनाउने र स्वस्थ प्रतिस्पर्धाको वातावरण बिगार्ने जोखिम रहने आयोगको ठहर छ।
प्रविधिको तीव्र विकाससँगै सूचना प्रवाह सहज बने पनि यसको दुरुपयोगले निर्वाचन प्रक्रियालाई नै कमजोर बनाउन सक्ने भन्दै आयोगले जिम्मेवार र संयमित व्यवहार गर्न सबैलाई आह्वान गरेको छ। आचारसंहिताको पूर्ण पालना गर्दै स्वतन्त्र, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न गराउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आयोगको धारणा छ।




