सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आफ्नो पाँच वर्षे ‘बाचा पत्र’ कर्णालीको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ। ७५औँ प्रजातन्त्र दिवसको अवसर पारेर सार्वजनिक गरिएको दस्तावेजलाई पार्टीले ‘परिवर्तन उद्घोष’ नाम दिएको छ।
चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरूले संयुक्त रूपमा बाचा पत्र सार्वजनिक गरेका थिए। रास्वपाले आफ्नो घोषणापत्रमा विशेषगरी मध्यम वर्गलाई केन्द्रमा राखिएको दाबी गरेको छ।

कर्णालीबाट सन्देश: अब पछाडि नपारिने भूगोल
सभापति लामिछानेले कर्णालीबाट बाचा पत्र सार्वजनिक गर्नु संयोग नभएको उल्लेख गर्दै विगतमा उपेक्षित क्षेत्रलाई अब प्राथमिकतामा राखिने सन्देश दिन खोजिएको बताए। “पछाडि पारिएको कर्णालीलाई अब पछाडि पर्न नदिने हाम्रो बाचा हो,” उनले भने।
लामिछानेले सञ्चारकर्मीका रूपमा कर्णालीसँगको आफ्नो सम्बन्ध स्मरण गर्दै कालिकोटको रास्कोटमा १५ शय्याको अस्पताल निर्माण गरेको प्रसंग उल्लेख गरे। उनले जनतासँग पाँच वर्ष सरकार चलाउने स्पष्ट म्यान्डेट माग्दै भने, “आजसम्म नेता र पार्टी जिते, अब जनता जिताउने पालो हो। दुई तिहाइ दिनुस्, देश बदल्छौं।” काम गर्न नसके पाँच वर्षपछि जनताले नै ‘घण्टी’ बजाएर जवाफदेही बनाउने चुनौती पनि उनले दिए।
उनले पुराना दलहरूतर्फ संकेत गर्दै कर्णालीमा रोग, गरिबी र अशिक्षा कायम रहनुमा राजनीतिक असफलता जिम्मेवार रहेको आरोप लगाए। लोकतन्त्रको रक्षा जनताले गर्ने भन्दै उनले लोकतन्त्रलाई कमजोर पार्ने प्रयासप्रति सचेत रहन आग्रह गरे।
बालेनको छोटो तर सन्देशमूलक सम्बोधन
वरिष्ठ नेता बालेन्द्र शाहले करिब तीन मिनेट मात्रै बोले पनि उनको सम्बोधनले व्यापक चर्चा पायो। कर्णालीको इतिहास, सभ्यता र प्राकृतिक सम्भावनाको चर्चा गर्दै उनले देशकै सबैभन्दा लामो नदी, ठूलो जिल्ला र गहिरो ताल भएको भूगोललाई विकासको केन्द्र बनाउनुपर्ने धारणा राखे।
रारालाई केन्द्रमा राख्दै पर्यटन, जडीबुटी, स्याउ र मार्सी चामलजस्ता स्थानीय उत्पादनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। “कर्णालीको गहिराइ बुझ्ने पार्टी रास्वपा हो,” उनले भने। काठमाडौँ महानगरमा सांस्कृतिक सम्पदाको संरक्षणको अनुभव कर्णालीमा पनि लागू गर्ने संकेत दिए।
दुई तिहाइको आग्रह र सुशासनको एजेन्डा
उपसभापति डोलप्रसाद अर्यालले आगामी निर्वाचनलाई निर्णायक मोडको रूपमा व्याख्या गर्दै समानुपातिक र प्रत्यक्ष दुवै तर्फ ‘घण्टी’ चिन्हमा मतदान गरी दुई तिहाइ बहुमत दिलाउन आग्रह गरे। देशमा सुशासन स्थापना, भ्रष्टाचार अन्त्य र प्रभावकारी सेवा प्रवाह नै पार्टीको मुख्य उद्देश्य रहेको उनले बताए।
उपसभापति स्वर्णिम वाग्लेले लोकतन्त्र सुदृढ हुन मध्यम वर्ग सशक्त हुनुपर्ने धारणा राख्दै बाचा पत्र त्यही वर्गलाई केन्द्रमा राखेर तयार गरिएको बताए। रोजगारी सिर्जना, पूर्वाधार विकास, विदेशमा रहेका नेपालीका मुद्दा सम्बोधन र मध्यम वर्गको भविष्य सुरक्षित गर्ने योजना समेटिएको उनको भनाइ थियो।
छोटो तर व्यवस्थित सभा
वीरेन्द्रनगरस्थित घण्टाघर परिसरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’ करिब एक घण्टा ढिला सुरु भए पनि कार्यक्रम अपेक्षाकृत छोटो र व्यवस्थित रह्यो। शीर्ष नेताहरूले छोटो समयमै आफ्नो धारणा राखे—सभापति लामिछानेले सबैभन्दा लामो, करिब १४ मिनेट सम्बोधन गरे भने अन्य नेताहरू पाँच मिनेटभन्दा कम बोले।
सुरक्षा निकायका अनुसार सभामा करिब १० देखि १२ हजार सर्वसाधारणको सहभागिता थियो। घण्टाघर परिसर, आसपासका सडक र घरका छतसमेत दर्शकले भरिएका थिए।
कर्णालीबाट बाचा पत्र सार्वजनिक गर्दै रास्वपाले उपेक्षित भूगोलबाट राष्ट्रिय परिवर्तनको अभियान सुरु गरेको सन्देश दिन खोजेको देखिन्छ। अब मतदाताको निर्णयले पार्टीको ‘दुई तिहाइ’ लक्ष्य कत्तिको सम्भव हुन्छ भन्ने निर्धारण गर्नेछ।





