काठमाडौँ — फिफा विन्डोअन्तर्गत दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न बंगलादेशको पुरुष राष्ट्रिय टोली बुधबार नेपाल आउँदैछ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भदौ २१ र २४ गते हुने खेलका लागि करिब १ करोड २७ लाख रुपैयाँभन्दा बढीको बजेट व्यवस्थापन गरेको छ। अभ्यासका लागि नेपाली सेनाको खेल मैदान र च्यासल रंगशालामा सुविधा मिलाइने भएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।
दुवै खेलका टिकट एन्फाले आफ्नै स्वामित्वमा राख्दै बिक्री गर्नेछ। टिकट मूल्य भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय रुपैयाँ तोकिएको छ। भीआईपीतर्फ १२०० र सामान्यतर्फ ७ हजार टिकट मात्र बिक्री हुनेछन्।
खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउनका लागि यी खेल आयोजना गरिएको एन्फाले जनाएको छ। खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्समार्फत र लाइभ स्ट्रिमिङ एड रिलिजमार्फत हुने भएको छ।




