पर्सामा फेरि बढ्यो झाडापखाला र हैजा सङ्क्रमण, नियन्त्रणका लागि नयाँ रणनीति

वीरगन्ज । पर्सा जिल्लामा केही समय नियन्त्रणमा आएको झाडापखाला र शङ्कास्पद हैजाको सङ्क्रमण पुनः बढ्न थालेको छ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गत शनिबारदेखि सोमबारसम्म मात्रै ८८ नयाँ केस फेला परेका छन्। शनिबार २७, आइतबार ३३ र सोमबार २८ केस दर्ता भएका छन्। यससँगै सोमबारसम्म जिल्लाभर कुल १,५१२ केस दर्ता भइसकेका छन्।

यीमध्ये १,४७९ जना उपचारपछि निको भइसकेका छन् भने ३३ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्।

यस्तै, पछिल्लो एक महिनामा २४० जनामा हैजा पुष्टि भएकोमा २३६ जना घर फर्किसकेका छन्। हालसम्म ४ जना बिरामी मात्रै अस्पतालमा उपचार गराइरहेका छन्।


किन फेरि बढ्यो सङ्क्रमण ?

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार खानेपानीमा नियमित रूपमा क्लोरिन (पीयूष झोल) प्रयोग नगर्नु नै मुख्य कारण बनेको हो।

सुरुवाती चरणमा सरकारका तीन तहले (संघ, प्रदेश र स्थानीय) घर–घरमा पुगेर जनचेतना जगाएका कारण संक्रमण नियन्त्रणमा आएको थियो। तर पछिल्लो समयमा त्यस्तो सक्रियता घट्दा र सर्वसाधारणले पीयूष प्रयोग नगर्दा पुनः ‘हटस्पट’ मानिएको वीरगन्ज महानगरपालिका–१२ मा बढी केस देखिन थालेका छन्।

साथै, डिप बोरिङ तथा खानेपानी संस्थानको पानी सेवन गर्नाले हैजा फैलिएको चिकित्सकहरूले चेतावनी दिएका छन्।


नयाँ रणनीति : धार्मिक गुरुहरूको सहयोग

जनस्वास्थ्य कार्यालयले मंगलबारदेखि धार्मिक गुरुहरूलाई परिचालन गरेर खानेपानीमा क्लोरिनको प्रयोग गर्न जनचेतना फैलाउने योजना बनाएको छ।

कार्यालयका अनुसार स्थानीयलाई डर–त्रास हटाई सुरक्षित पानी पिउन प्रेरित गर्न धर्मगुरुहरूको भूमिकाले ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ।


यसरी हेर्दा, पर्सामा झाडापखाला र हैजा पुनः सक्रिय बने पनि समयमै सही रणनीति र स्थानीय सहकार्य भएमा यसलाई नियन्त्रण गर्न सकिने जनस्वास्थ्य विशेषज्ञहरूको भनाइ छ।


प्रतिक्रिया
सम्बन्धित खबर