राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा, ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक १७ गते कतारको राजधानी दोहा प्रस्थान गर्ने भएका छन्। उनले कात्तिक १८ देखि २० गतेसम्म हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन्।

राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको यो सम्मेलन सदस्य राष्ट्रका लागि अत्यन्तै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ।

मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको दोस्रो सम्मेलनमा नेपालको राष्ट्रपतिको सहभागिता ऐतिहासिक र अर्थपूर्ण रहेको बताए। सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न उच्चस्तरीय व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

सन् १९९५ मा पहिलो पटक डेनमार्कको कोपनहेगनमा आयोजित उक्त सम्मेलन यसपटक कतारमा हुँदैछ। सम्मेलनमा विश्वले सामना गरिरहेको विकास असमानता, जनसङ्ख्याको असन्तुलन, प्रविधिको प्रभाव लगायत सामाजिक विकासका प्रमुख चुनौतीबारे गहन छलफल हुने अपेक्षा गरिएको छ।

सचिव राईका अनुसार सम्मेलनले सामाजिक विकासका लागि सहकार्य, साझेदारी र साझा प्रतिबद्धता जाहेर गर्नेछ। नेपाल सन् १९५५ देखि संयुक्त राष्ट्रसङ्घको सक्रिय सदस्य रहँदै आएको र हाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष राष्ट्रका रूपमा पनि भूमिका निर्वाह गरिरहेको छ।

कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर