आमनिर्वाचन लोकतन्त्रको सबैभन्दा जीवन्त उत्सव हो। यही प्रक्रियामार्फत् जनताले आफ्नो मताधिकार प्रयोग गरी सत्ताको सहज हस्तान्तरण गर्छन् र मुलुकको भविष्य तय गर्छन्। निर्वाचनले नागरिकलाई आफ्ना प्रतिनिधि छान्ने मात्र होइन, विगतका कामको मूल्यांकन गर्दै नयाँ आशा र सम्भावनालाई अवसर दिने अधिकार पनि प्रदान गर्छ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरबाट दुई हजार ६ सय ५५ भन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन्। एक सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ भने समानुपातिकतर्फ एक सय १० जना प्रतिनिधि छनोट हुनेछन्। यसरी प्रत्यक्ष र समानुपातिक प्रणालीबाट कुल दुई सय ७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्।
प्रत्येक पाँच वर्षमा हुने प्रतिनिधिसभा निर्वाचन २०८४ सालमा तय भए पनि गत भदौको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन हुन पुगेकाले यो निर्वाचन दुई वर्षअघि नै हुन लागेको हो। मनोनयन प्रक्रिया सम्पन्न भएसँगै मुलुक अब पूर्ण रूपमा नयाँ जनप्रतिनिधि छनोट गर्ने ऐतिहासिक महाअभियानमा प्रवेश गरेको छ।
जेनजी आन्दोलनपछि देशको राजनीतिक परिवेश बदलिएको छ। परम्परागत दलहरूमाथि परिवर्तनको दबाब बढेको छ भने नयाँ राजनीतिक दलहरू पनि उदाएका छन्। पुराना र नयाँ दल दुवैका लागि यो निर्वाचन जनताको विश्वास जित्ने निर्णायक परीक्षा बनेको छ। आगामी ४४ दिनपछि हुने निर्वाचनले मुलुकको भावी राजनीतिक शक्ति सन्तुलन स्पष्ट पार्नेछ।
यस पटकको उम्मेदवारी प्रक्रियाले निर्वाचन झन् रोमाञ्चक हुने संकेत दिएको छ। नयाँ अनुहारहरूको उपस्थितिसँगै सूचना प्रविधिको व्यापक प्रयोग पनि निर्वाचनमा देखिनेछ। तर प्रविधिको प्रयोगसँगै दुरुपयोगको जोखिम पनि उत्तिकै रहेको छ। कुसूचना, भ्रामक प्रचार र अल्गोरिदमको गलत प्रयोगले जनमतलाई प्रभावित पार्न सक्ने खतरा चुनौतीका रूपमा उभिएको छ।
कुसूचनाको प्रभावबाट मतदातालाई जोगाउँदै सही निर्णय गर्न सक्षम बनाउनु आजको मुख्य आवश्यकता हो। गलत सूचनाका आधारमा गलत प्रतिनिधि चयन भएमा त्यसको मूल्य मुलुकले दीर्घकालसम्म चुकाउनुपर्ने हुन्छ। त्यसैले सचेत मतदाता नै लोकतन्त्रको सबल आधार हो।
यस पटकको निर्वाचनमा उम्मेदवारको संख्या उल्लेख्य भए पनि महिला सहभागिता भने अझै सन्तोषजनक देखिएको छैन। करिब तीन सय मात्र महिला उम्मेदवार प्रत्यक्ष निर्वाचनमा सहभागी भएका छन्, जुन पुरुष उम्मेदवारको तुलनामा निकै कम हो। यसले निर्वाचन प्रणालीमा महिला सहभागिता सुनिश्चित गर्न अझै सुधार आवश्यक रहेको तथ्य पुनः उजागर गरेको छ।
निर्वाचन आयोगले उम्मेदवारको दाबी–विरोधका लागि बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तोकेको छ। त्यसपछि उम्मेदवारीको अन्तिम सूची सार्वजनिक हुनेछ। दलहरूले देखाएको उत्साह र जनताको चासोले यो निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र ऐतिहासिक बन्ने संकेत दिएको छ।
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचनलाई सर्वोच्च प्राथमिकतामा राख्दै लोकतन्त्रप्रतिको प्रतिबद्धता स्पष्ट पारेको छ। यसले निर्वाचनको सफल आयोजना प्रति जनविश्वास अझ बलियो बनाएको छ। अब आम मतदाताको सचेत निर्णयले मात्र मुलुकलाई सही दिशातर्फ अघि बढाउनेछ।




