काठमाडौं – काठमाडौंको बौद्ध क्षेत्रमा सुनका गरगहना चोरीको घटनामा संलग्न एक जनालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार विकास भनिने प्रेम थारूलाई गएराति काठमाडौं महानगरपालिका–६ महांकाल क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ गर्ने क्रममा प्रहरी र आरोपीबीच झडप भएपछि प्रहरीले गोली चलाउनुपरेको उनले बताए। गोली लागेर थारूको खुट्टामा चोट लागेको छ।
प्रहरीका अनुसार थारूमाथि करिब ६५ तोला सुनका गरगहना चोरी गरेको आरोप छ। मंगलबार काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको एक घरबाट मध्याह्न करिब १२ बजेतिर ४२ तोला सुनचाँदीका गहना चोरी भएको घटनामा पनि उनकै संलग्नता रहेको आशंका गरिएको छ।
उक्त घरका मानिसहरू छतमा बसिरहेको समयमा चौथो तलामा रहेको कोठाबाट गहना चोरी भएको थियो। घटनास्थलमा कोठाको ढोकाको कब्जा फुटाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका थारूबारे थप अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए।




