काठमाडौं । नेपालको पूर्वी पहाडी भेगको प्रमुख नगदे बाली तथा महत्वपूर्ण निर्यातजन्य उत्पादनका रूपमा परिचित चिया उद्योग गम्भीर संकटमा परेको छ। नेपाली अर्थोडक्स चियाको निर्यातमा भारततर्फबाट देखिएको अवरोधका कारण उद्योग व्यवसाय नै प्रभावित बनेको हो।
निर्यात प्रक्रियामा उत्पन्न समस्याले चिया उद्योगीहरूलाई ठूलो आर्थिक दबाबमा पारेपछि देशभरका दर्जनौं उद्योग बन्द भएका छन्। उद्योगीहरूले समस्या शीघ्र समाधान नभए बाँकी उद्योगसमेत सञ्चालन गर्न कठिन हुने चेतावनी दिएका छन्।
इलाम, झापा, पाँचथरलगायत पूर्वी नेपालका विभिन्न जिल्लामा सञ्चालित कुल ८३ वटा चिया उद्योग हाल बन्द अवस्थामा पुगेका छन्। उद्योग बन्द भएसँगै हजारौं किसान, श्रमिक तथा चिया व्यवसायसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरू प्रभावित बनेका छन्।
चिया उद्योग नेपालको वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्रमध्ये एक मानिन्छ। तर निर्यातमा देखिएको अवरोधका कारण उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा गम्भीर असर परेको उद्योगीहरूको भनाइ छ।
समस्या समाधानका लागि सरकारको तत्काल पहल आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। समयमै कूटनीतिक तथा व्यापारिक पहल नभए नेपाली चिया उद्योगले अझ ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।




